असोज ५, पोखरा ।।
गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रा.लि.को घुसकाण्डको आफैं छानविन गर्ने भएको छ । विषेशगरी स्तरवृद्धि नवीकरण गर्नका लागि भन्दै बार्गेनिङ भएको घुसकाण्डको प्रदेश सरकार आफैले छानबिन गर्ने भएको हो । यसको लागि प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि छानविनका लागि गुहार्ने भएको छ ।
गण्डकी प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले सो घुसकाण्डको छानविन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानविनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतीको कानूनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानविन गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति बनाएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिएका छन् ।
छानविन समितिको सदस्यमा को को रहनेछन् भन्ने खुलाइएको छैन । तर छानविन समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको शेरचनले बताए । यस्तै उक्त मन्त्री परिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव बसौलाको जिम्मेवारी खोसेको छ ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको समेत उनले बताए ।
त्यस्तै सो बैठकले घुस बार्गेनिङमार्फत स्तरवृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
५० शैयाको अस्पताल स्तरोन्नती गरि १ सय शैयाको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेश मन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो सार्वजनिक भएको थियो ।
सो अडियो भिडियोमा मन्त्री क्वार्टरमै पैसाको बार्गेनिङ भएको देखिन्छ भने उक्त रकम लिन मन्त्रीका स्वकीय सचिव पौडेलले ताकेता गर्दै फोन सम्वाद गरेका थिए । बार्गेनिङ गरेको अडियो भिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन् ।
उनीहरुले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोहि अनुसार आफूहरुले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन् । तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन् ।
यसअघि यहि घुस काण्डबारे छानविन गर्न नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा एमालेले पनि छुट्टै छानविन समिति गठन गरिसकेको छ । सो समितिले छानविन शुरु गरिसकेको बताएको छ ।








