असोज ७, पोखरा ।।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको
पहिलो उडानमार्फत विदेश प्रस्थान गर्न लागेका यात्रुहरूलाई बिदाइ गरेका छन् ।
पहिलो उडानमार्फत विदेश यात्रा गर्न लागेका यात्रुहरूलाई महानगर प्रमुख आचार्यले विमानस्थलमा पुगेर शुभकामनासहित बिदाइ गरेका हुन्।
विषेशगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क थप विस्तार हुने अपेक्षा गरिएको छ ।
पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई बिदाइ गर्दै महानगर प्रमुख आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पोखरा तथा समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।
उनले अन्तर्राष्ट्रिय उडानको निरन्तरताले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्नुका साथै पर्यटन, व्यापार तथा अन्य आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँबाट अन्तर्राष्ट्रिय उडान विस्तारका लागि निरन्तर पहल हुँदै आएको थियो । फ्लाई दुबईको पहिलो उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप मजबुत रूपमा जोड्ने आधार तयार भएको सरोकारवालाहरूको अपेक्षा छ ।
यस्तै पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारलाई पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ । प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान बढ्दै जाँदा विदेशी पर्यटकलाई पोखरा भित्र्याउन सहज हुनुका साथै गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
यसैगरी पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुविधा उपलब्ध हुन थालेपछि वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश जाने यात्रुलाई समेत काठमाडौं पुगेर अन्तर्राष्ट्रिय उडान लिनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
यस फ्लाई दुबईको पहिलो उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित हवाई सेवा विस्तार हुने सम्भावनाले समेत नयाँ आशा जगाएको छ । यसलाई पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।








