असोज २५, पोखरा ।।
यस वर्षको बडादशैँ आइतबार(आज)देखि शुरु भएको छ । बडादशैँअन्तर्गत आज पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिने परम्परा रहिआएको छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको जनाएको छ । यससँगै नवरात्र शुरु हुन्छ । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।









