असोज २५, गोरखा ।।
आइतबार(आज)बुढीगण्डकी नदीमा एक्कासी बाढी आएको छ । उक्त बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिकाको पैयू र बगर गाउँका ३५ घर बगाएको छ । विषेशगरी उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहावले त्यहाँ ३५ घर बगाएको हो ।
यस्तै सो बाढीले खोला किनारका चार वटा गोठ र गोठमा बाँधिएका १५ वटा याक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्क विहीन रहेका छन् ।
त्यस्तै बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेकाे छ । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
अहिले बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिएका छन् ।









