असोज २९, पोखरा ।।
पोखरामा मोटरसाइकलले पैैदलयात्रीलाई ठक्कर दिदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु भएको हो ।
बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको कास्की प्रहरी प्रमुख नबिन कार्कीले जानकारी दिए ।
घाइते भएका दुवै जनालाई उपचारका लागि विरौटामा रहेको नोबेल हस्पतालमा लगिएको त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो । पश्चिमाञ्चल अस्पतालमा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








