कार्तिक १७, काठमाडौं ।।
सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत देशभर मंगलबार(आज) र भोलि बुधबार बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले मिति परिवर्तन गरी आज र भोलि खुवाउन लागिएको हो ।
नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो ।
सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।






