मंसिर ०८, काठमाडौं ।।
विपद्को पूर्वसूचना दिन नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।
विपद्को समयमा नागरिकसम्म छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सेल ब्रोडकास्टिङ प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण हिजो सोमबार गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङ तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुमा रहेको प्राविधिक परीक्षण भवनमा हिजो बेलुका सफल परीक्षण गरिएको हो । नेपालकै प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रविधि विपद् पूर्वसूचना प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
यस प्रविधिमार्फत निश्चित भौगोलिक क्षेत्रका मोबाइल फोनहरूमा एकैपटक आपतकालीन सूचना प्रवाह गर्न सकिन्छ । अहिले सीमित प्राविधिक वातावरणमा सम्पन्न प्रारम्भिक परीक्षण सफल भएसँगै अबका चरणमा पोखरामा एनसेलको सञ्जालमार्फत परीक्षण गरिनेछ ।
त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । नेपालजस्तो बहुविपद् जोखिमयुक्त देशमा यो प्रविधिले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गृह मन्त्रालयको छ । दूरसञ्चार प्राधिकरणकाअनुसार सिमकार्ड वा इन्टरनेट नभए पनि मोवाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ ।
सामान्य म्यासेजभन्दा फरक किसिमको यो प्राविधिले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा छोटो समयमै धेरै मोवाइल उपकरणमा सूचना संदेश पुर्याउन सक्छ ।








