गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाले आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक सेवामा खर्चिएका छन् । प्रेस युनियन कास्कीद्धारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले निर्वाचित हुनुअघि नै आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रण गरेको जानकारी दिँदै जनप्रतिनिधि भनेको निस्वार्थ रुपमा जनताको सेवागर्न निवार्चित भएको पनि बताएका छन् ।
सोही मान्यता अनुरुप आफुले प्राप्त गरेको सम्पूर्ण सुविधा जनताकै विकास निमार्ण र सामाजिक कार्यमा लगाएको उनले जनाएका हुन् । उनले २०७६ माघदेखि २०७७ पौषसम्म आफ्नो बैंक खातामा बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेत गरेर आएको ८ लाख ५९ हजार ८ सय ६८ रुपैँयामा आफ्नो व्यक्तिगततर्फ बाट ३ लाख ८० हजार रकम थप गरी १२ लाख ४७ हजार रुपैँया विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका छन् ।
कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका सांसद थापाले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील २० वटा संघ–संस्थालाई उक्त रकम सहयोग गरेका हुन् । सोही कार्यक्रममा बोल्दै सांसद थापाले सरकारले बजेट विनियोजन गर्दा आफ्नो प्रदेशलाई अन्याय गरेको आरोप पनि लगाएका छन् । उनले कोरोनाले जनता आक्रान्त भएको समयमा सरकारले जनताको पक्षमा काम गर्न नसकेको जनाउँदै विकास बजेटको आधा वर्ष सकिन लाग्दा समेत मात्र १५ प्रतिशत खर्च मात्रै भएको पनि बताएका छन् । सधै एक नम्बर भएको दावी गर्ने गण्डकी प्रदेश सरकार यतिबेला उत्तिर्ण हुन नसकेको पनि उनले बताएका छन् ।
त्यस्तै सांसद थापाले प्रदेशसभाको निर्वाचन भएको ३ वर्ष पुरा भैसक्दा पनि अझै प्रदेश सरकारको कामले जनताको सतही अपेक्षापनि पुरा गर्न नसक्दा व्यवस्था भित्र वितृष्णा बढ्दै गएको आफुले अनुभव गरेको जानकारी दिएका छन् । उनले गणतन्त्रपछि पहिलो पटक दुई तिहाइ मत सहित नेतृत्व गरेको केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारको पालामा सबैभन्दा धेरै अराजकता फैलिएको पनि जनाएका छन् ।
सोही कार्यक्रममा थापाले बाहिर लोकतन्त्रको पाठ पढाउँदै हिड्ने तर भित्रभित्रै एकतन्त्रीय कम्युनिस्ट अतिवादबाट प्रेरित ओलीको प्रतिगमनको यात्राले फेरि मुलुकको राज्य व्यवस्था र राजनीतिक दलप्रतिको विश्वसनीयता र लोकतन्त्रमाथि नै प्रश्न उठेको बताएका छन् ।
भाषण गरेजस्तो सत्ता संचालन सजिलो नभएको बताउँदै उनले सत्ता भनेको देश, जनता, राष्ट्रियता, विश्व राजनीति भएको स्पष्ट पारेका छन् । यस्तै उनले प्रदेशको समृद्धी आफुहरुको काँधमा भएको जनाउँदै प्रतिपक्षी सकारात्मक र रचनात्मक भएर सरकारलाई सहयोग गरिरहेको पनि सो कार्यक्रम मार्फत जानकारी दिएका छन् । उनले सरकारले पनि प्रतिपक्षीलाई सहयोगीको रुपमा लिनको लागि आग्रह समेत गरेका छन् ।