जिल्ला निर्वाचन कार्यालय कास्कीद्धारा निर्वाचन आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम
  • प्रमुख खबर

जिल्ला निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पाँचौ निर्वाचन दिवसको अवसरमा आज निर्वाचन कार्यलय कास्कीले “निर्वाचन आचार संहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका” विषयकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरको हो ।

कार्यालयले कास्कीका निर्वाचन अधिकारी, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुसंग सो अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले निर्वाचन आयोगद्धारा जारी हुने निर्वाचन आचारसंहिता ठूला राजनीतिक दलहरुले नै कार्यान्वयन नगर्ने बताएका छन् । सोही छलफल कार्यक्रममा मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको समयमा कुनैपनि राजनीतिक दलका प्रतिनिधिहरुले बालबालिकालाई प्रयोग गर्न नहुने बताएका छन् । उनले बालबालिका मात्र नभएर विद्यालय समेत प्रयोग गर्न नहुने पनि स्पष्ट पारेका छन् ।

त्यस्तै कार्यक्रममा विभिन्न साना राजनीतिक दलका प्रतिनिधिहरुले ठूला दलका नेता र उम्मेदवारहरुलाई मात्र सुरक्षा दिने गरेको तर साना दलकालाई भने वेवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले निर्वाचनको समयमा निष्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
अधिकारी ढकालले निर्वाचन आचारसंहिताबारे जानकारी गराउन र छलफलमा उठेका कुराहरुलाई मस्यौदामा समेट्नको लागि यस कार्यक्रमको आयोजना गरिएको पनि बताएका छन् । उनले आचारसंहिताको मस्यौदामा लगभग सबै विषयवस्तुहरु समेटिएको जानउँदै आचारसंहिता पनि निवार्चनको एउटा पाटो रहेको पनि बताएका छन् ।

यस्तै कार्यलयका प्रमुख भिमसेन कार्कीले कास्कीका ५ वटा स्थानिय तहमा २ लाख ६४ हजार ४ सय ७७ मतदाता रहेको र १ सय ५० वटा मतदान स्थलको साथै ३ सय १७ मतदान केन्द्र रहेको जानकारी दिएका छन् । उनका अनुसार मतदानको अवधिसम्म मतदान केन्द्र घटबढ हुन सक्ने पनि जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्