नेपाल खेलकुद मञ्च गण्डकीले संचालन गर्दै आएको पोखरा स्पोर्टस् अवार्ड–२०७७ को मनोनयन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेको छ । विगतदेखि नियमित रुपमा हुँदै आएको अवार्ड गत वर्ष भने कोभिड–१९ महामारीका कारण तयारी हुँदाहुँदै पनि अन्तिम आएर स्थगित भएको थियो ।
सो कारणले यस वर्ष भने २०७६÷०७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्ने निर्णय भएको आयोजकले जनाएको छ । मञ्चले २०७८ बैशाख २० गते आयोजना गर्न गईरहेको पाचौं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विभिन्न ४ विधामा ३–३ जनाको नाम सार्वजनिक गरेको छ । सो मनोनयमा सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कराँतेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ, फुटबलका सुमन अर्याल पर्न सफल भएका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ्ग र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेका छन् ।
यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्विमिङकी दुवाना लामा, लनटेनिसका प्रदिप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन् भने प्रशिक्षकमा पौडीका आनन्द कुवँर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा पर्न सफल भएका छन् । मनोनितमध्य सर्वोत्कृष्ट हुने भाग्यशाली खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिमा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले बताएका छन् ।
यस्तै मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेल संघ अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड समेत प्रदान गर्ने भएको छ । सो पुरस्कारको लागि भने प्रतिभा छनौट गर्ने क्रममै रहेको र पत्रकारिता पुरस्कार भने अवार्ड वितरण समारोहमा नै एकैपटक उद्घोषण गरिने ज्ञावलीले जानकारी दिएका छन् । मञ्चका अध्यक्ष एकराज गिरीले खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामध्ये एकजनालाई चाँदीको करुवासहित लाइफटाइम अचिभमेन्ट अवार्ड गरिने बताएका छन् ।सर्वोत्कृष्ट पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्नेलाई जनहि २ लाख रुपैँया, ट्रफी र दोसल्ला प्रदान गरिने भएको छ ।
यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, खेल संघ तथा पत्रकारिता पुरस्कार विधामा भने नगद सहित ट्रफी र दोसल्लाले सम्मान गरिने पनि गिरीले जनाएका छन् । सो कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताएका छन् ।
यसैबीच रोखपका सदस्य राजेश कुमार गुरुङ्गले उक्त अवार्ड कार्यक्रमलाई सफल बनाउन आफ्नो ममतामयी आमाको स्मृतिमा केही रकम आर्थिक सहयोग गर्ने वचन समेत दिएका छन् । गुरुङ्गले खेलाडी एंव खेलकुद क्षेत्रलाई प्रोत्साहन हुने यस्ता कार्यक्रमलाई सफल पार्न खेलकुदकर्मी लाग्नुपर्ने पनि बताए ।