“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले गर्ने मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
१९ औं संस्करण अन्र्तगत चैत्र २१ देखि २८ गतेसम्म पोखरा रङ्गशाला स्थित खेल मैदानमा प्रतियोगिता संचालन हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले गर्ने भएका छन् भने समापन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले गर्ने तय भएको आयोजकले जनाएको छ ।
आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम सहारा क्लब र विभागिय टोली एपीएफ क्लब भिड्ने भएको छ । त्यस्तै २२ गते मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुनबीच खेल हुने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताएका छन ् । उनका अनुसार चैत्र २३ गते संकटा क्लब र नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लबबीच तेस्रो क्वाटरफाईनल खेल हुने भएको छ चौथो क्वाटरफाइनल खेल रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच कडा प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।
अध्यक्ष थापाले पहिलो सेमीफाइनल खेल २५ गते र दोस्रो सेमिफाइनल खेल २६ हुने बताएका छन् । त्यस्तै २८ गते भने सो फुटबल प्रतियोगिताको फाइनल खेल हुने बताइएको छ । उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब, विभागिय टोली एपीएफ, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, आयोजक टोली सहारा क्लब, संकटा क्लब, रुस्लान थ्रि स्टार क्लब मछिन्द्र क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरि जम्मा ८ टिमको सहभागिता रहने भएको छ ।
यस १९ औं संस्करणलाई सहारा क्लबले पोखराका प्रतिष्ठित उद्योगपति एंव राजनितिककर्मी स्व.सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने आयोजकले जनाएको छ । उनको स्मृतीमा क्लबले प्रदान गर्ने विद्यागत अवार्डमा स्व.केसीको नाम समेत जोड्ने भएको छ । सबै विद्यागत अवार्डमा ट्रफी र नगद २५ हजार रुपैँया प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।विगतका वर्षमा जस्तै सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ ले एक जना राष्ट्रिय खेलाडीलाई पनि नगद ३५ हजार रुपैँया, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरिने क्लबका अध्यक्ष थापाले बताएका छन् ।
उनले प्रतियोगिताको उपाधि राशिमा कुनै फेरबदल नगरिएको जनाउँदै विजेता टिमलाई शिल्ड, मेडल र प्रमाण–पत्रसहित नगद रु १० लाख १ हजार प्रदान गरिने बताएका छन् । त्यस्तै उप–विजेता टिमले नगद रु ५ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर तथा प्रशिक्षक घोषित हुने प्रत्येकलाई जनही २५ हजारसहित ट्रफीद्धारा पुरस्कृत गरिने भएको छ ।
यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैँया र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैँया प्रक्षेपण गरिएको पनि उनले जानकारी दिएका छन् । प्रतियोगिताबाट बचत भएको रकमलाई भने पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमी संचालनको लागि नै खर्च गरिने समेत आयोजकले जनाएको छ ।