राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशद्धारा अपाङ्गगता समावेशि जनगणना २०२१ अभियान प्रारम्भ
  • प्रमुख खबर

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले यस प्रदेशमा अपाङ्गगता समावेशि जनगणना २०२१ अभियान प्रारम्भ भएको जनाएको छ । अभियानबारे प्रष्ट पार्न आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सो अभियानबारे जानकारी दिएको हो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबीन लाल श्रेष्ठ, निर्देशक ढुण्डी राज लामिछाने र राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष मित्रलाल शर्माको विशेष उपस्थितिमा “मलाई गणना गर ः मलाई समाबेश गर” भन्ने नारा सहित सो अभियान प्रारम्भ भएको छ ।

“मेरो जनगणना ः मेरो सहभागिता ” भन्ने मूल नारा सहित हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई अपाङ्गता समावेशि बनाउन राष्ट्रिय अपाङ्थ महासंघ नेपाल संघिय कार्यालय र केन्द्रिय तथ्यांक विभागले सर्हानिय कार्यहरु गरिरहेका छन् ।ती सकारात्मक प्रयासहरुलाई थप बल प्रदान गर्न र गण्डकी प्रदेशमा बसोबास गर्ने सबै अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्यांक बाहिर ल्याउन सकियोस् भन्ने मुख्य उद्दे्र्रश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले साउथ कोरिया स्थित Make The Right Real Fund बाट “Campaign on Disability Inclusive National Census 2021 in Gandaki Province” नामक परियोजना १८ देशका ४६ वटा प्रस्तावहरु मध्ये उत्कृष्ट २ मा पर्न सफल भएर संचालन समेत गरिरहेको छ ।

उक्त परियोजनाले राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता समावेशि बनाउनका लागि विभिन्न कार्यहरु गर्ने भएका छन् । ती कार्यहरुमा जनगणना सम्बन्धि बन्ने प्रादेशिक, जिल्ला, पालिका र वडा स्तरीय सबै संरचनाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपुर्ण सहभागिताका लागि जनवकालत गर्ने भएको छ ।
त्यस्तै गणक तथा सुपरिवेक्षकहरुलाई प्रदान गर्ने तालिमहरुमा अपाङ्गता सम्बन्धि विषयवस्तुहरु समावेश गराउन पहल गर्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई नै प्रशिक्षकको रुपमा परिचालन गर्न आवश्यक समन्वय गर्ने बताइएको छ ।

आगामी जनगणनामा कोही पनि अपाङ्गता भएका व्यक्तिहरु गणना हुनबाट नछुटुन भन्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति, अभिभावक, अपाङ्गता भएका व्यक्तिद्धारा संचालित संघसंस्थाहरु, स्थानीय सामाजिक संघसंस्थाहरुको अधिकतम परिचालन तथा समन्वय गर्ने समेत सो कार्यक्रममा जानकारी दिइएको छ । यस्तै जिल्ला जनगणना कार्यालय, स्थानीय पालिका र विभिन्न संयन्त्रहरुमा समन्वय तथा वकालत गर्नको लागि गण्डकी प्रदेश अन्र्तगतका ११ वटा जिल्लामा २२ जना फोकल पर्सन मनोनयन गरी परिचालन गर्ने पनि बताइएको छ ।

विश्व स्वास्थ्य संगठन अनुसार विश्वको कुल जनसंख्याको झण्डै १० देखि १५ प्रतिशत जनसंख्या कुनै न कुनै अपाङ्गतासंग बाँचिरहेका छन् । नेपालमा २०६८ को जनगणना अनुसार अपाङ्गता भएका व्यक्तिहरुको कुल जनसंख्या जम्मा १.९४ प्रतिशत रहेको छ, जुन विभिन्न अध्ययन र अनुसन्धानसंग मेल खादैन ।विश्व स्वास्थ्य संगठन र यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विभिन्न समयमा गरेको सर्वेक्षण एंव गत जनगणनाको तथ्यांकमा ठूलो भिन्नता रहेको छ ।

भरपर्दो तथ्यांकको अभावमा नेपाली अपाङ्गता भएका व्यक्तिहरु अझै पनि विकासको मूलधारमा आउन सकिरहेका छैनन् । त्यस्तै संविधान, ऐन कानुन तथा अपाङ्ता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ मा उल्लेख भएको राजनैतिक, सामाजिक तथा आर्थिक अधिकार उपभोग गर्नबाट समेत उनीहरु वञ्जित भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्