शुक्ला साहित्य प्रतिष्ठानको १० औं राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रम
  • प्रमुख खबर

वि.सं. २०४५ मा स्थापना भई हाल ३२ औं वर्षमा प्रवेश गरी साहित्यिक गतिविधिमा अग्रसर रहेको यस शुक्ला साहित्य प्रतिष्ठान पोखराले प्रा.डा.जगमान गुरुङ्गलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको शुक्ला साहित्य पुरस्कारद्धारा प्रा.डा.गुरुङ्गलाई राष्ट्रिय सम्मान गर्ने जानकारी दिएको हो । वि.सं. २०५४ सालमा देउसीभैली तथा अक्षयकोष अभियानबाट १ लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गरि सोको ब्याजबाट प्रतेक दुई वर्षमा २० हजार १ सय १ रुपैयाँ साहित्य कला इतिहासमा योग्दान पु्याएको आधारमा संस्था पुरस्कार विधान अनुरुप प्रदान गरेको छ ।

हालसम्म राष्ट्रिय पुरस्कारबाट ९ जना व्यक्तित्वहरु सम्मानित भईसकेका छन् । सो सम्मानित हुने व्यक्तित्वहरुमा २०५८ मा हास्यव्यंग्य मार्फत जनचेतना जागरण फैलाउन सफल महजोडी, २०६० मा डा.रविलाल अधिकारी प्रगतिबादी समालोचनाको क्षेत्रमा योग्दान पु्याए बापत, मुक्तक, उपन्यास, नाटक, कविताका क्षेत्रमा योग्दान गरेको २०६२ मा सरुभक्तलाई सम्मान गरेको छ । त्यस्तै २०६४ मा कला, चित्रकला एवं व्यंग्य चित्रको मार्फत विसङ्गति र विकृतिमा तिखो प्रहार गरेकोमा दुर्गा बराल वात्सायन, २०६८ मा गजल र कथाका क्षेत्रमा योगदान गरेकोमा मनु ब्राजाकी चेतमान सिंह भण्डारी, २०६८ मा मौलिक प्रगतिवादी गित संगित मार्फत जनजागरण अभिबृद्धि गरेकोमा जीवन शर्मा सम्मानित भईसकेका छन् । यस्तै सो पुरस्कारबाट लोकगित, संङकलन गायन मार्फत लोक संस्कृति उत्थान गर्न सफल हरिदेवी कोईरालालाई २०७० मा, लोक साहित्य, संकल्न अनुसन्धान योगदान गरेकोमा २०७२ मा हंसपुरे सुवेदीको साथै २०७२ मा नेपाली भाषा व्याकरण विशेष योगदान गरेकामा चुडामणी बन्धुलाई पनि सम्मान गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै हाल आएर यस प्रतिष्ठानले २०७५ चैत्र ११ गते गठित अक्षयकोष संकलन महाअभियान उपसमिति संयोजक मदन बहादुर खत्री लगायत सदस्यहरुको अथक प्रयासले हालसम्म करिब ६ लाख सङ्गलन गरि सकेको पनि कार्यक्रममा जानकारी दिएको छ । सोही अक्षयकोषको प्राप्त ब्याज मध्येबाट ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ताम्रापत्र सहित पुरस्कृत व्यक्तित्व प्रा.डा. गुरुङ्गलाई समर्पण गरिने संस्थाका अध्यक्ष सुमनराज पौडेलले बताएका छन् । सम्मानित हुने प्रा.डा.गुरुङ्गलाई नेपाली संस्कार, संस्कृति र इतिहासको क्षेत्रमा गहन अध्ययन गर्नुका साथै स्थानीय इतिहास, संस्कृति र परम्पराका सूक्ष्म विश्लेषण गर्दै राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता एंव जातिय सद्भापको अभिवृद्धिमा यसले पु्याएको योगदानको अनुसन्धान तथा प्रचार–प्रसारमा निरन्तर क्रियाशिल रहँदै आएका उनलाई यस संस्थाको १० औं शुक्ला साहित्य पुरस्कारद्धारा सम्मान गर्ने निर्णय भएको बताइएको छ ।

वि.सं.२००४ श्रावण २४ गते याङजाकोट, कास्कीमा जन्मेका गुरुङ्गले नेपाली इतिहास संस्कृति र पुरातत्व विषयमा त्रि.वि.बाट एम.ए गरेका छन् ।
उनले चिनिया–तिब्बती ज्योतिषशास्त्रमा पि.एच.डी र विश्व ज्योतिष विद्यापिठ कलकत्ताबाट शिक्षा हासील गरेका छन् । उनका गुरुङ्ग जाति तथा संस्कृति–२०३४, नेपाल एकिकरणमा गुरुङ्गहरुको भुमिका–२०४४, नेपालको राष्ट्रिय एकिकरणको परिपेक्षयमा गण्डकी प्रश्रवण क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक लेखहरु प्रकाशित समेत छन् । त्यस्तै उनको नेपालको राष्ट्रिय समीकरणमा अखण्ड शिव–बुद्ध समन्वयवादको भुमिका र A study on Sino Tibetan Astrological System among The Geography of Gandaki Regions in western Nepal  कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।

यस प्रतिष्ठानले कोरोना महामारी रुपमा नफैलिएको खण्डमा भने २०७८ बैशाख २ गतेका दिन गुरुङ्गलाई सम्मान गर्ने जनाएको छ अन्यथा बैशाख महिनाको अन्त्यमा सम्मा सो कार्यक्रम सम्पन्न गरी उनलाई सम्मान गर्ने तयारी रहेको पनि प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्