देशभर नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसंगै पोखरामा पनि संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ । संक्रमितको संख्या बढेसंगै पोखरामा जटिल अवस्था भएकासंक्रमितको संख्यामा समेत वृद्धि भएको छ ।
कोरोना संक्रमितको संख्या बढेसंगै देशव्यापी रुपमा अक्सिजनको अभाव भइरहेको छ । यो महामारीको समयमा अक्सिजनको अभावले पोखरामा पनि विभिन्न अस्पतालहरुमा राखिएका कोरोनाका बिरामीलाई असुबिधा हुन पुगेको छ भने कतिले अक्सिजन अभावको कारणले ज्यान गुमाइसकेका छन् ।
पोखरा मात्र नभइकन देशभर अक्सिजनको अभाव त भएको छ नै तर यहाँका केही अस्पतालका भेन्टिलेटरमा समेत समस्या भएको पाइएको छ । भन्टिलेटरमा भएको समस्याले पनि यतिबेला कोरोनाका बिरामीहरुमा थप ठुलो समस्या उत्पन्न हुने गरेको छ ।
सो समस्या समाधानको लागि फ्रेन्ड्स अफ एनआइसी नेपाल–यू.के.का अध्यक्ष इन्जिनियर हरिकृष्ण न्यौपानेको पहलमा यस क्षेत्रमा रहेका विभिन्न अस्पतालहरुमा गई भेन्टिलेटरमा भएको समस्यालाई निःशुल्क रुपमा समाधान गर्ने कार्यहरु संचालन भईरहेको छ । यसैक्रममा उनले पश्चिमाञ्चल सामुदायिक अस्पतालको २ वटा भेन्टिलेटर रिमोट्ली मर्मत कार्य भइरहेको जनाएका छन् । त्यस्तै सोही मर्मत कार्यलाई निरन्तरता दिँदै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको ६ वटा र कास्की सेवा अस्पतालको १ गरी अहिले ७ वटा भेन्टिलेटर निःशुल्क रुपमा मर्मत गर्नका लागि काठ्माण्डौंमा रहेको राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी) मा पठाउने कार्य समेत भएको उनले जानकारी दिएका छन् ।
सो भेन्टिलेटर रिपियरको लागि आविष्कार केन्द्रको कार्यलय काठ्माण्डौंको कीर्तिपुरसम्म पु्याउन नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष बाबुराम पाण्डेले सहयोग गरेको संस्थाका अध्यक्ष इन्जिनियर न्यौपानेल बताएका छन् । यसैगरी उनले आफुहरुले मणिपाल शिक्षण अस्पतामा समेत गई अस्पतालभित्र रहेको अक्सिजन प्लान्टको पियुरिटि लेभललाई चेकजाँच गरि कन्र्फम गर्ने कार्य गरेको र अन्य जटिल समस्याहरुलाई समाधानको निम्ति त्यहाँका इन्जिनियरहरुलाई विशेषज्ञसंग परार्मश गर्न कनेक्ट गराउँने महत्वपूर्ण कार्य भएको पनि जनाएका छन् । उनले यो जटिल परिस्थितिमा अहिले देशभर देखिएका समस्या समाधानको निम्ति आफुहरुले एनआइसीका साथीहरुसंग मिलेर अन्य कार्यहरु पनि संचालन गरिरहेको जानकारी दिएका छन् । यस्तै अध्यक्ष न्यौपानेले संस्थाको मुल उद्देश्य बेलायतमा आफुहरुले सिकेको सिप र ज्ञानलाई एनआइसीका विभिन्न प्रोजेक्टहरुमा सहभागी भइ सहकार्य गर्नुका साथै उक्त प्रोजेक्टहरुलाई सफल र फलदायी बनाउन फन्ड रेजिङ गर्ने कार्य समेत गर्दै आइरहेको बताएका छन् ।
यस महामारीको समयमा यससंग जुध्न यस कार्यमा सहयोग गर्ने अमेरिकामा रहेका डाक्टर सन्तोष सापकोटा, इन्जिनियरहरु निर्मल पौडेल र प्रकाश बिष्ट एवं राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको टिमलाई उनले धन्यवाद दिएका छन् । साथै देशैभरका विभिन्न अस्पतालहरुमा रहेका भेन्टिलेटर र अक्सिजन प्लान्टमा कुनै समस्या भएमा यसै टिमलाई सम्पर्क गर्नको लागि अनुरोध गर्दै आफुहरुले समस्या समाधानको लागि सक्दो सहयोग गर्ने पनि जानकारी दिएका छन् ।