नेकपा कास्कीले आज पोखरा–१८ स्थित लामागाउँका २० घरधुरीलाई राहत वितरण गरेको छ । दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका २० घरधुरीलाई सो पार्टीले सहयोग स्वरुप राहत वितरण गरेको हो । दाल, चामल, नुन, तेल जस्ता अत्यावश्यक खाध्य वस्तुहरु राहत स्वरुप पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्थितिमा वितरण भएको हो ।
राहत वितरण गर्दै जिल्ला सेक्रेटरी पराजुलीले सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, किसान, सुकुम्बासी लगायतलाई परेको समस्यालाई केही हदसम्म भएपनि राहत पुग्न सक्ने विश्वास सहित आफुहरुले निकै नै अप्ठ्यारो परेका घरपरिवारलाई सहयोग स्वरुप राहत वितरण गरेको बताएका छन् ।
उनले स्थानिय सरकारलाई बारम्बार उद्धत गर्दा पनि नागरिकको सामान्य ख्याल समेत नगरी वेवास्था गरेको हुदाँ आफुहरुले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरेको जनाएका छन् । राहत वितरण गर्दै सेक्रेटरी पराजुलीले जनता रोगले भन्दा पनि भोगले मर्न सक्ने अवस्था सृजना नहोस् भन्नको निम्ति सम्पूर्ण पार्टी पंतिलाई समेत राहत वितरणमा लाग्न आग्रह पनि गरेका छन् ।