गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका राजीव गुरुङ्ग ‘दीपक मनाङे’ले आफुलाई धोका दिएको भन्दै आक्रोश पोखेका छन् । गुरुङ्ग पदमुक्त भैसकेपछि मुख्यमन्त्रीको कार्यालयबाट बाहिरिँदै गर्दा आज पत्रकार सम्मेलन गर्दै उनले मनाङेलाई आफुले चुनाव जित्न सहयोग गरेको, प्रदेशसभा सदस्यको सपथ दिलाउन पनि भूमिका खेलेको बताउँदै मनाङेले सबै छोड्छु र सुध्रिन्छु भनेपछि आफुले उनलाई सघाएको तर बदलामा उनले विश्वासघात गरेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व मुख्यमन्त्री गुरुङ्गले उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको तर डाँकुबाट मनाङेलाई बाल्मिकी बनाउन आफु असमर्थ भएको जिकिर व्यक्त गरे । उनले आफुले त्यतिबेला चाहेको भए मनाङेको सासंद पद जाने भएपनि त्यस्तो कार्य नगरेको बताए ।
एमालेको समर्थनमा चुनाव जितेका सांसद मनाङेलाई दुई–दुई पटक मन्त्री बनाएका निवर्तमान मुख्यमन्त्री गुरुङ्गले आफुलाई उनले दिएको यो भन्दा ठूलो धोका अरु केही नहुने पनि बताए । उनले सोही प्रसंगमा बाल्दै रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले धोका दिने भन्दै धतुरोको बाट आँगनमा रोपेर अमृत नफल्ने भनेको यही हो भन्दै आक्रोश व्यक्त समेत गरे ।
गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदाँ सत्ता जोगाउन मनाङेलाई उनले मन्त्रीमण्डलमा भित्राउँदै बैशाख १६ गते खेलकुद मन्त्रीका रुपमा शपथ खुवाएका थिए । त्यसपछि गुङ्गले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । फेरी अर्को बाटो अप्नाउँदै उनी नै पून मुख्यमन्त्री भएका थिए । त्यसबेला समेत गुरुङ्गले उनलाई मन्त्री बनाएका थिए ।
केही समयअघि सम्म गण्डकी प्रदेशमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ्ग सरकारको साथ दिएका स्वतन्त्र सांसद् मनाङेले अहिले गठबन्धलाई साथ दिएका छन् ।