मणिपाल शिक्षण अस्पताल बिक्री प्रक्रिया अवैधानिक भएको भन्दै अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियनले अस्पताल प्राङगणमा गई आज विरोध प्रदर्शन गरेका छन् । अस्पालको बिक्री प्रक्रिया अबैधानिक रहेको भन्दै त्यसका विरुद्ध विद्यार्थीहरुले आज अस्पतालको प्राङ्गणमा मेडिकल माफिया मुर्दावाद, मणिपाल मेडिकल कलेज राष्ट्रियकरण गर, शिक्षा र स्वास्थ्य माथिको व्यापार बन्द गर लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क.ले माफियाले राज्यलाई नियन्त्रणमा लिएर देशलाई मनोमानि रुपमा चलाई रहेको आरोप लगाएका छन् । उनले यस अस्पतालमा ६० प्रतिशत लगानी रहेको भनिएको आनन्द बतासको समुहले हिजोका दिनमा पनि पोखराको सभागृह समेत निजीकरण गर्न थालेको र त्यस विरुद्धमा आफुहरुले संघर्ष गरेको समेत बताएका छन । उनले देशैभरि माफियाले राज्यलाई नियन्त्रणमा लिएर देश चलाईरहेको र यसका विरुद्धमा अन्तिमसम्म पनि संघर्ष गरिरहने बताएका छन् ।
२०४९ फाल्गुन १८ गते तत्कालिन श्री ५ को सरकारका तर्फबाट श्री ५ को शिक्षा, स्वास्थ्य तथा कल्याण मन्त्रालय र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपसंग भएको सम्झौता विपरीत खरीद बिक्री भएको र यो अबैधानिक रहेको भन्दै विप्लव निकट अखिल ( क्रान्तिकारी ) ले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारको संम्लग्नता बिनै सो अस्पताल बिक्रि हुनु र ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता विपरीत मणिपाल ग्रुुपले दोस्रो व्यक्तिलाई बिक्री गरिनु अबैधानिक मात्र नभइ शिक्षा र स्वास्थ्य माथि व्यापार गर्ने मेडिकल माफियाको गम्भीर कदम रहेको साथै यो कदम मान्य नहुने भन्दै अखिल क्रान्तिकारीले मणिपाल मेडिकल कलेज राष्ट्रियकरण नभएसम्म आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
सबैतिर रहस्यमय ढंगबाट मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपले निर्माण–संचालन हस्तान्तरण (बटु) मोडलमा बनेको यस अस्पतालले सरकार पक्षलाई थाहै नदिई भर्चुअल माध्यबाट शेयर खरिद सम्झौता (एसपीए) गरेको थियो । ३ अर्ब २५ करोड रुपैयाँमा यस अस्पताल बेचिएको हल्ला समेत रहेको छ ।
पोखराका दुई ठूला व्यवसायी आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेशनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज ग्रुपको ४० प्रतिशतको संयुत्त लगानि रहेनेगरी बिक्रि गरेको तथ्य बाहिरिए पछि गुपचुप रुपमा अस्पताल बिक्रि गरिएको प्रति विभिन्न धारणहरु आएका छन् । त्यस्तै यता सो अस्पताले हालसम्म राज्यलाई बुझाउनुपर्ने करको भने कुनै टुङ्गो लगाएको छैन । महानगरमा नक्सा पास र सम्पत्ति कर बुझाउनेबारेमा मणिपालले अदालतमा दायर गरेको मुद्दा विचारधीन अवस्थामा छ । होल्डिङ्सले नेपाल सरकारलाई बुझाउनुपर्ने करबापतको झण्डै १ अर्ब रुपैयाँ बुझाउने बताए पनि पोखरा
महानगरपालिकाको जिम्मा भने नदिने भएको छ ।
हालै सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०६७÷७७ सम्म नक्सा पास, वातावरण शुल्क र सम्पत्ति कर वापत २८ करोड भन्दा बढी रुपैयाँ महानगरलाई बुझाउनुपर्ने छ । तर मणिपालले भने भवन निर्माण सम्पन्न भएको चार वर्षभित्रै नक्सा पास शुल्क बुझाए पनि सरकारी जग्गाको सम्पत्ति कर नबुझाउने उसको अडान रहेको छ । यी दुवै कर कसले बुझाउने भन्ने टुंगो नलगाई मणिपाल खरिद–बिक्रि भएको समाचार केही समय अगाडी मात्र बाहिरिएको थियो ।
आज भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र वि.क., अखिल क्रान्तिकारीका गण्डक ब्यूरो संयोजक अटल र अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन मगर लगायतका विद्यार्थीहरुको उपस्थिति समेत रहेको थियो ।