युवा तथा खेलकुद मन्त्रीद्धारा आफूले हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी
  • प्रमुख खबर

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ्गले आफु मन्त्रीमा नियुक्त भएपछि हालसम्म आफ्नो मन्त्रालयले युवा तथा खेलकुदका विषयमा विभिन्न कामहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन् । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको बारेमा जानकारी दिएका हुन् ।

उनले गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने ९ औं राष्ट्रिय खेलकुदका लागि पूर्वधार निर्माणलाई जोड दिएर कामहरु गरिरहेको बताएका छन्् । उनले पोखरा रंगशालामा छिट्टै ६ करोडको लगानीमा मार्शल आर्टस प्रशिक्षण केन्द्रको निर्माण शुरु गरिने पनि जानकारी गराएका छन् । प्रदेशका विभिन्न ठाउँमा पूर्व निर्धारित योजना अनुसार आफुहरुले खेलाडी र प्रशिक्षकहरुलाई कोरोना भाइरसको भ्याक्सिन विभिन्न चरण गरेर लगाउन समेत सुरु गरिसकेको पनि उनले बताएका छन् ।

मन्त्री गुरुङ्गले अहिले सबै खेलाडीहरुलाई प्रशिक्षण गराउँदा कोरोनाको जोखिम बढ्न सक्ने हुनाले तत्काललाई खोप लगाएकाहरुलाई मात्र प्रशिक्षण दिने व्यवस्था गरेर खेलकुदका गतिविधि शुरु गर्न सकिने बताएका छन् । उनले यस प्रदेशका युवा तथा खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर मन्त्रालयसंग उपलब्ध स्रोत र बजेटको आधारमा सम्भव भएसम्म सम्पूर्ण क्षेत्रका युवा तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने मुख्य लक्ष्य राखेर सोही अनुसारको काम भइरहेको पनि जानकारी दिएका छन् । आफुहरुले सकेसम्म सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गरि खेल विकासको निम्ति विद्यालयमा उपलब्ध खेलकुदका लागि खेलमैदान निर्माण गर्ने गरि मन्त्रालयबाट तयारी गरिरहेको पनि बताएका छन् ।

त्यस्तै मन्त्री गुरुङ्गले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत मन्त्रालयले युवाहरुको सशक्तिकरणका लागि करिब २५ लाख विना व्याजमा ऋण अनुदान सहयोग गराउने बताउँदै यस कार्यक्रमका लागि ७ जनाको युवा समुह आवश्यक रहने जानकारी पनि दिएका छन् । युवाहरु लगनशिल भएर कार्य गरेमा प्रदेशलाई कृषिको क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने र यसले युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने पनि उनको भनाई रहेको छ ।

कार्यक्रममा बाल्दै मन्त्री गुरुङ्गले प्रदेशका युवाहरुलाई लक्षित गरी मन्त्रालयले प्रदेशमा युवामैत्री कानुन बनाउन लागेको जनाउँदै प्रदेशका सबै युवाहरुका लागि आर्थिक, सामाजिक, खेलकुदका साथै युवाहरुको व्यक्तित्वमा विकासका लागि अधिकार स्थापित गर्न मन्त्रालयले तयारी गरेको समेत बताएका छन् । यस्तै उनले अघिल्लो सरकारले साढे ३ वर्षको अवधिमा खेलकुदका लागि केहिपनि नगरेको आरोप लगाएका छन् । उनले अघिल्लो सरकारको कारणले गर्दा अहिलेपनि आफुहरुले खेलकुदमा एबिसिडिबाट शुरुवात गर्दै गरेको जानकारी समेत दिएका छन् ।

अघिल्लो सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्नो क्षेत्रमा मात्र खेलकुदको लागि बजेट लगेको मन्त्री गुरुङ्गको आरोप छ । उनले प्रदेशका ११ वटा जिल्लामध्य म्याग्दी र बाग्लुङ्गका लागि मात्र दोब्बर बजेट पुनले लगेको आरोप लगाएका हुन् ।
त्यस्तै उनले निवर्तमान सामाजिक विकास मन्त्रीले कुल ६ करोड बजेटमा म्याग्दी र बाग्लुङ्गमा मात्र ४ करोड बजेट छुटाएको तर अन्य ९ वटा जिल्ला कास्की, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, स्याङजा, लमजुङ, गोरखा र नवलपुर भने जम्मा २ करोड बजेट मात्र भएको पनि स्पष्ट पारेका छन् । यसरी बजेटमा विभेद गरिएको प्रति उनले असन्तुष्टि जनाएका छन् । रातो किताबमा नै उक्त बजेट उल्लेख गरेकाले सो बजेट हेरफेर गर्न नमिल्ले पनि उनले जानकारी गराएका छन् । मन्त्री गुरुङ्गले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६० दिन पुगिरहदाँ प्रदेशको युवाहरुको अहिलेको सोच र उनीहरुको आवाज अनि सुझावलाई मनन गरेर युवाहरुमा समर्पित हुँदै महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको पनि जानकारी दिएका छन् ।

तस्विर : तिर्थ के. सि.

तपाईको प्रतिक्रिया दिनुहोस्