फिजियोथेरापी संघ गण्डकीको अध्यक्षमा तिवारी
  • प्रमुख खबर

फिजियोथेरापी संघ गण्डकी प्रदेशको तेश्रो महाधिवेशनले शिवप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेस पहाडी, कोषाध्यक्षमा प्रविण त्रिपाठी चयन भएका हुन । सदस्यहरुमा किशोर पराजुली, सरोज थापा, हरिशचन्द्र जोशी, चन्द्रबहदुर खत्री, सुनिल न्यौपाने, सुरक्षा पराजुली र मनिषकुमार शाह चयन भए ।

महाधिवेशनमा बोल्दै संस्थापक अध्यक्ष खड्क गुरुङले फिजियोथेरापीको सेवा र यसको महत्वबारे आम जनमानसमा जानकारी पुर्याउन संघले थप पहल गर्नुपर्ने बताए । आँफुहरुलाई भाईरल हुनु नभई सेवामा गुणस्तर दिने बताए । स्वास्थ्यको क्षेत्रमा फिजियोथेरापीको महत्व सबैले बुझ्नुपर्नेमा गुरुङको जोड थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले शहर केन्द्रित फिजियोथेरापी सेवालाई ग्रामिण भेगसम्म पुर्याउन संघले पहल गर्नुपर्ने बताए । फिजियोथेरापी अन्तिम विकल्पको रुपमा मात्र जाने हो भन्ने आम मानिसहरुको बुझाई रहेको भन्दै पत्रकार श्रेष्ठले यसबारे आवस्यक जनचेतना जगाउन संघको नयाँ कार्यसमितिलाई सुझावसमेत दिए । साथै अहिले धेरै मानिसहरुको ध्यान योग, साधनातिर गएको भन्दै श्रेष्ठले फिजियोथेरापी सेवालाई पनि योगासंगै अघि बढउन सके आम मानिसहरुमा यसबारे थप चासो बढ्न सक्ने बक्ताहरुको भनाई थियो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष शिवप्रसाद तिवारीले आफ्नो कार्यकालका हरेक महिनाको एकपटक फिजियोथेरापी सम्बन्धि कुनै न कुनै कार्यक्रम आयोजना गरेर सचेतना जगाउने बताए । जनमानसमा जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सेवाभावले काम गर्ने र फिजियोथेरापी सेवामा लगेका सम्पूर्ण चिकित्सकहरुमा सीपको विकास गराउँदै संघ र व्यक्ति सक्षम बनाउन पहल गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्