नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने निर्णय अनुसार नेकपा कास्कीले बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई कार्यक्रमको निर्देशन जारी गरे अनुसार आज सोमबार ६ गते नेकपा कास्कीले पोखरामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको हो ।
पोखराको पृथ्वीचोकबाट सुरु भएको र्याली सभागृहचोक हुँदै चिप्लेढुङ्गा, सिदार्थचोक, जिरो किलोमिटर, हल्लनचोक, बैदाम, मिलनचोक, एयरपोर्ट परीक्रमा गर्दै पृथ्वी हाईवे अन्तर्गत अमरसिह चोक, बिजयपुल, बुढिबजार, अर्घौ, तालचोक हुँदै शिशुवा चोकमा पुगी कोण सभामा परीणत भएको थियो ।
पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको उक्त र्यालीमा नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ति जिन्दावाद , महान सहिद अमर रहुन् , वेपत्ताको खोजी गर , बैज्ञानिक समाजवाद जिन्दावाद , दलाल संसदीय ब्यवस्था खारेज गरौँ जस्ता नाराहरु लगाईएको थियो ।
यस्तै कार्यक्रम अन्तर्गत मंगलवार ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप, कविता, लोकगीत, वक्तृत्वकला लगायत कार्यक्रमहरू आयोजना गरिनेछ । त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्च गरिने नेकपा कास्कीले जनाएको छ भने साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइने बताईएको छ ।