घरेलु मैदानमा मनाङ्को जित, पुलिस ३–१ ले पराजित
  • प्रमुख खबर

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ् मस्र्याङदी क्लवले घरेलु मैदानमा नेपाल पुलिस क्लव माथि ३–१ गोलको जित हासिल गरेको छ ।

लिगको पांचौं चरणको खेलमा पुलिस माथि सहज जित हासिल गर्दै मनाङ् लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मनाङको जितमा राष्ट्रिय खेलाडि तथा मनाङ्का कप्तान अन्जन विष्टले २ तथा निशान लिम्बुले १ गोल गरेका थिए भने पुलिसका लागि सुमन लामाले १ गोल फर्काएका थिए ।

खेलको १०औं मिनेटमा डिफेन्डर दिनेश राजवंशिको पासमा अन्जनले पहिलो गोल गरेका थिए । तर खेलको ३५औं मिनेटमा पुलिसका सुमन लामाले पेनाल्टिमा गोल गर्दै खेल वरावरि गरेका थिए । मनाङ्का रक्षक सरोज योञ्जन लामाले पुलिसका फरवार्ड निरकुमार राईलाइ डिवक्समा लडाएपछि पुलिसले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको फाइदा उठाउदै सुमनले पुलिसलाइ खेलमा फर्काएका थिए ।

त्यस्तै खेलको दोश्रो हाफको ७३औं मिनेटमा कप्तान अन्जन विष्टले सुन्दर फ्रिकिक गोल मार्फत मनाङ्लाइ पून अग्रता दिलाएका थिए । पुलिसका रक्षक सन्तोष हेमरुनले डिबक्स वाहिर ह्याण्ड गरेपछि मनाङ्ले फ्रिकिक प्राप्त गरेको थियो । त्यस्तै खेलको ८३औं मिनेटमा निशान लिम्वुले गोल गर्दै घरेलु टोलिलाइ सहज जित दिलाएका थिए । ओलाओलेले गरेको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले फर्काएपछि रिवाउन्डमा निशानले भलि गोल गरेका थिए ।

यस जित संगै मनाङ् लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लिगमा पांच खेल खेलेको मनाङ् अपराजित रहदै चार जित र एक वरावरि सहित १३ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने समान पांच खेलमा ११ अंकका साथ मछिन्द्र लिगको दोश्रो स्थानमा रहेको छ ।

त्यस्तै पोखरा रंगशालालाई घरेलु मैदान वनाएको मनाङ्ले लिगको सातौं र आठौं चरणको खेल पनि पोखरा रंगशालामा नै खेल्ने भएको छ । सातौं चरणको खेल व्रिगेड वोइजसंग पौष १७ गते र आठौं चरणको खेल च्यासलसंग पौष २४ गते पोखरा रंगशालामा नै खेल्नेछ । त्यसअघि छैटौं चरणको खेलका लागि भने मनाङ् काठमाण्डौं जानेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्