जनकविकेशरी धर्मराज थापाको जन्म घरमा लोक संस्कृति र विचार गोष्ठी कार्यक्रम हुने
  • प्रमुख खबर

पोखरा १६ बाटुलेचौरमा जन्मिएका जनकविकेशरी धर्मराज थापाको जन्म घरमा लोक संस्कृति विचार गोष्ठी कार्यक्रम हुने भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित जनकविकेशरीको घरमा गण्डकी प्रदेशको लोक संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाहरुकाबीचमा विचार गोष्ठी कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं जनकविका ज्येष्ठ सुपुत्र मदनराज थापाले लोक गीत, भजन, सङ्गीत र साहित्यका माहोलकाबीच लोक संस्कृति र साहित्यका विविध विषयमा केन्द्रित कार्यक्रम गर्न लागिएको जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ कार्यक्रमको प्रमुख वक्ता रहने छन् । उनले अहिलेको हाम्रो समाजमा संस्कृतिको माध्यमबाट समाजमा के कस्तो रुपान्तरण गर्न सकिन्छ भनेर आफ्नो विचार राख्ने कार्यक्रम छ । यसैगरी प्राडा गुरुङले कुलमण्डन शाहदेखी, पोखरा, लामाचौर, बाटुलेचौर तथा गण्डकी प्रदेशको इतिहास खोतल्नेछन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ डा देवी नोपल, वरिष्ठ गायिका ज्ञानु राणाको कार्यक्रममा सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए । पुस ९ गते साँझ स्रस्टाहरुबाट कविता, गजल, हाइकु र मुक्तकबाचनबाट कार्यक्रम सुरुआत हुने छ। भोलिपल्ट गन्धर्वहरुको मांगलिक धुनबाट सुरु हुने कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा, संस्कृतिकर्मी तथा साहित्यकार गरी २०० जनाको सहभागिता हुने थापाले जनाकारी  गराए ।

साहित्यकार जगन्नाथ रेग्मीले साहित्यको तीर्थस्थलका रुपमा रहेको कविघरमा साहित्यिक अन्तरक्रिया र इतिहास खोतल्ने प्रयास गरिने बताए । नेपाली लोक सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहे बापत विसं २०१३ मा राजा महेन्द्रले थापालाई जनकविकेशरीको उपाधि दिएका थिए । कविकेशरी थापाले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह’, ‘आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन’, ‘धुरुधुरु नरोउ आमा, तिम्रो आँसु पुछेरै छाडौँला’,‘घर सम्झि रोएको होला डाँडा काटी गएको नेपाली,’, ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो’ लगायतका थुप्रै गाउँबेसीका धुन र भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएका थिए ।उनको वि .सं २०७१ असोज १८ गते निधन भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्