प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले ३ महिने सहायक प्रशिक्षक तालिमको सुरुवात गरेको छ । परिषदले आज एक कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीको हातबाट सो ३ महिने तालिमको उद्घाटन गरेको हो । उक्त तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री नेपालीले यो ३ महिने सहायक प्रशिक्षक तालिमले प्रशिक्षकहरुको दक्षतामा अझ वृद्धि भई यसले प्रशिक्षकहरुको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताउँदै उनले प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने पनि जनाएका छन् ।
उनले जसरी आफुहरुले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति निर्माण गरेको छ त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन आफुहरुले खेलकुद नीति पनि निर्माण गर्ने बताएका छन् ।
मुख्यमन्त्री नेपालीले अब चाँडैनै विज्ञहरु राखेर खेलकुद नीति निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने समेत सो कार्यक्रम मार्फत जानकारी दिएका छन् । उनले प्रदेशको खेलकुद क्षेत्रको विकासलाई अघि बढाउन सरकारसंग भएको स्रोत र साधनको उपयोग गर्दै छिट्टै उच्चस्तरको समिति गठन गरी प्रदेशभित्रका जग्गाहरुको खोजी गर्नुका साथै प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमा अध्ययन गर्ने पनि बताएका छन् ।
त्यस्तै मुख्यमन्त्री नेपालीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक यसै प्रदेशमा आयोजना हुने हुदाँ यो हाम्रो गण्डकी प्रदेशको लागि एउटा गौरवको विषय भएकोले प्रदेश सरकार एक्दम गम्भिर भएर अघि बढेको समेत जानकारी दिएका छन् । त्यस्तै उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ्गले पनि प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा अब छिट्टै जुट्नुपर्ने समय आएको बताएका छन् ।
उनले यस प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलता र खेल क्षेत्र विकासका निम्ति आवश्यक खेलकुद पूर्वाधारहरुको निर्माण कार्यमा पहल गर्नुपर्ने समेत स्पष्ट पारेका छन् । यस्तै सोही कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ्गले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहने बताएका छन् । उनले प्रदेशको कुल बजेटको पाँच प्रतिशत बजेट प्रदेशको खेलकुद विकासका लागि छुट्याउनुपर्नेमा जोड समेत दिएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले आयोजना गरेको उक्त ३ महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिममा ९ वटा जिल्लाका ९३ जना सहयाक प्रशिक्षकहरुको सहभागिता रहेको छ । सो ३ महिने तालिम चैत्र ५ गतेसम्म संचालन हुने भएको छ भने तालिम अवधिभर विभिन्न विधाका १४ जना विज्ञहरुद्धारा प्रशिक्षण दिने यस तालिमका संयोजक कृष्ण तिम्लिसिनाले जानकारी दिएका छन् ।