‘हात्तिस्थान तामेकोट समिट २०७८’ को तयारी अन्तिम चरणमा :- डा. शिवशंकर बस्याल
  • प्रमुख खबर

कोरोना महामारीका कारण पछिल्लो दुई वर्षयता देशका विभिन्न स्थानमा हुदै आईरहेका मेला/महोत्सवहरु ठप्प नै रहेका थिए । आफ्नो गाउ ठाउको संस्कृति, परम्परा, इतिहास लगायत विभिन्न कला प्रस्तुत गरी आफ्नो स्थानलाई देश तथा विदेशमा चिनाउन मेला/महोत्सवहरुले ठूलो भुमिका खेल्ने गर्दछ । विस्तारै कोरोना महामारी कम भइरहेको वेला विभिन्न सुरक्षा अपनाएर पछिल्लो क्रममा मेला/महोत्सव गर्ने क्रम पनि वढिरहेको छ ।
यसैक्रममा गल्याङ नगरपालिका वडा नं. ५ स्यालवासमा ऐतिहासिक राज्य तामेकोट दरवार पूननिर्माणको उद्धेश्य सहित हात्तिस्थान फाउण्डेसनले आयोजना गरेको “हात्तिस्थान तामेकोट समिट २०७८” यहि पौष १५, १६ र १७ गते हुन लागिरहेको छ । यसै कार्यक्रमको तयारी, कार्यक्रम आयोजना गर्नुको उद्धेश्य लगायत समिटका विविध विषयमा आधारित रहेर हात्तिस्थान तामेकोट समिट २०७८ का संयोजक तथा हात्तिस्थान फाउण्डेसनका अध्यक्ष डा. शिवशंकर बस्याल ज्यू सँग प्रमुख खबरकर्मी विमल थापा ज्यू ले गर्नुभएको संवादको सम्पादित अंशः

हात्तिस्थान तामेकोट समिट २०७८ को तयारी कस्तो भइरहेको छ ?

समिटको तयारी हामीले ६ महिना अगाडि देखि नै विभिन्न ठाउवाट सुरु गरेका थियौं । पहिलो कुरो यहाँबाट विभिन्न ठाउमा वसाई सरेर जानुभएका तथा देश विदेशमा रहनुभएका व्यक्तित्वहरुलाई सम्योजन गर्ने काम गर्याैं । र अहिले समिट नजिकिदै गर्दा करिव करिव हामी तयारीको अन्तिम चरणमा छौं । जस्तो विभिन्न ठाउवाट आउने व्यक्तित्वहरु देखि लिएर यहाँ भैरहेका तयारीहरु लगभग पूर्ण छन् । सम्भवत आज साँझसम्म हामी पूर्ण तयारीको घोषणा गर्ने तरखरमा छौं ।

समिट आयोजना गर्नुको प्रमुख उद्धेश्य के रहेको छ ?

विशेषगरी शैक्षिक किसिमको वहस र वौद्धिक किसिमको वहस जसले देशको अर्थनितीलाई, समसामायिक विषयलाई, राजनितिलाई, पर्यटन, कृषि उद्योगलाई जुन दिशा निर्देश गर्नुपर्ने हो त्यो वहसको पनि हामीले यहि ठाउमा वहस गर्ने छौं र काठमाण्डौंलाई सन्देश दिनेछौं । यो वाहेक हामीले विभिन्न व्यक्तित्वहरुको पूनर्मिलन गराउनेछौं ।

समिटका आकर्षणहरु के–के रहेका छन् ?

देशभरका प्रभुद्ध व्यक्तित्वहरु देशको एउटा विकट ठाउमा उपस्थित हुनु नै समिटको प्रमुख आकर्षण हो । त्यो वाहेका संगितको क्षेत्रमा निरन्तर साधना गरिरहनु भएका व्यक्तित्वहरु लगायत लोकप्रिय कार्यक्रम इन्द्रेणीका कलाकारहरुको टोली यो दुर्गम ठाउमा आएर प्रस्तुति दिनु पनि यस कार्यक्रमको आकर्षण रहेको छ । साथमा हामीले दर्जनौं क्षेत्र/विधाका व्यक्तित्वहरुलाई एउटै मञ्चमा ओराल्न सक्नु नै हाम्रो प्रमुख आकर्षण रहेको छ ।

कार्यक्रममा कस्ता–कस्ता व्यक्तित्वहरुको उपस्थिती रहन्छ जस्तो लाग्छ हजुरलाई ?

विशेषगरी देशको अर्थनितीमा वहस गर्ने अर्थशास्त्रिहरु, समसामायीक विषयमा वहस गर्ने समाजशास्त्रिहरु, पर्यटन, कृषि उद्योगमा वहस चलाउने व्यक्तित्वहरु, शैक्षिक क्षेत्रमा वहस चलाउने व्यक्तित्वहरु, विज्ञान तथा प्रविधी क्षेत्रमा वहस गर्ने व्यक्तित्वहरु लगायत साहित्यकार, कलाकार, रंगकर्मी,चलचित्रकर्मीहरुको पनि उपस्थिती हुने अवस्था छ ।

अनुमानित कति जति दर्शकको उपस्थिती रहन्छ होला ?

हामीले सुरुमा उपस्थितीलाई सानो संख्यामा हेरेका थियौं । विशेषगरी हामीले गल्याङ नगरपालिका लाई केन्द्रित गरेर समिटको आयोजना गरेका थियौं । तर अहिले यो समग्र स्याङजा जिल्लाको आकर्षण मात्र होइन छिमेकी जिल्लाहरुवाट पनि राम्रो प्रतिक्रिया पाइराखेको अवस्था छ । सरदर हाम्रो पहिलो दिन दश हजार व्यक्तिहरु उपस्थित गराउने लक्ष रहेको छ भने दोश्रो र तेश्रो दिन त्यहि सापेक्षतामा उपस्थित हुने हामीले आशा गरेका छौं ।

स्याङजा जिल्लाको विकट ठाउमा समिट आयोजना गर्नुभएको छ, कत्तिको गाहृो÷सजिलो महसुस गर्नुभएको छ ?

प्राविधिक हिसावले गाउमा यस्तो कार्यक्रम आयोजना गर्नु निकै गाहृो हो र केहि कुरा सहज पनि लागेको छ, किनकी शहरमा हामीले कार्यक्रमहरु आयोजना गर्दा स्थानियहरुको साथ सहयोग खास्सै हुदैन । तर यहाँ लाखौ लागत लाग्ने कामहरु स्थानियहरुले जसरी सहयोग गर्नुभएको छ यसलाई हामीले जटिलटा भन्दा पनि जटिलटा वा कष्ट भित्रको आनन्दको रुपमा लिएका छौं ।

स्थानिय क्लव तथा आमा समुह लगायत अन्य संघ सस्थाको सहयोग कत्तिको पाउनुभएको छ ?

धेरै रहेको छ । किनकी उहाँहरुको सहयोग विना यो कार्यक्रम असम्भव हुन्थ्यो । हामीले देखेका छौ प्रत्येक दिन १०० जना जति व्यक्तित्वहरु क्लव तथा आमा समुहका भाईवैनीहरु, वुढी वुढी आमाहरु हातमा कुटो कोदालो लिएर हामी पनि केहि गर्नुपर्छ भनेर आउनुभएको छ यो भन्दा ठूलो सहयोगको अपेक्षा हामी राख्न सक्दैनौं । भावनात्मक रुपले यो सहयोगहरु हाम्रा लागी अविस्मरणीय रहेका छन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण स्थानियहरु, विभिन्न राजनिती दलहरु, संघ सस्थाहरु, शिक्षा क्षेत्रका व्यक्तित्वहरु लगायत देशका विभिन्न स्थानहरुवाट हामीहरु पनि आउछौ है भन्ने उत्साह छ यो अविस्मरणीय सहयोगको लागि सधै आभारी रहनेछु । समग्र व्यक्तित्वहरुले यो मेला हामी स्याङजावासीको मात्र नभै समग्र राष्ट्रको गर्वको रुपमा स्थापित हुनेछ र पहिचान हुनेछ भन्ने चिज हामीले लिदै पत्रकार ज्यूहरुले पनि यसलाई आफ्नो ठाउवाट महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । धन्यवाद् ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्