पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मावि वाटुलेचौरको हीरक जयन्तीको पुर्वसन्ध्यामा वृहत सरसफाई गरिएको छ । यही पुस २७ देखि आगामी चैत २७ गतेसम्म मनाईने हीरक जयन्तीलाई केन्द्रित गरी पोखराको १६ नं. वडाभित्रका विभिन्न टोलमा जनचेतना मुलक सरसफाई गरिएको हो ।
वडाभित्र रहेका आमा समुह, टोल विकास संस्था, क्लव, विद्यालयका भुपु विद्यार्थी, शिक्षक कर्मचारी र विद्यार्थीको सहभागितामा विद्यालय प्राङ्गणबाट शुरु भएको सरसफाई संगमचोक, महेन्द्र गुफा, चमेरे गुफा, अमला विसौनी, लामाचौर, मध्यम पथ, अमरदिप, पश्चिमाञ्चल क्याम्पस, दीप चोक, के आई सिह पुल लगायतका क्षेत्रमा पुगी सडकको दायाँ, बायाँ भएका फोहर संकलन गरी पोखरा महानगर पालिकाको सहयोगमा व्यवस्थापन गरिएको सरसफाई उपसमितिका संयोजक मेहरमान थापाले जानकारी दिनुभयो । सो अवसरमा सहभागीले जथाभावी फोहर नफाल्न र वातावरणलाई सफा राख्न स्थानियलाई आग्रह गरेका थिए ।
त्यस अघि कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाले उपसमितिका संयोजक मेहरमान थापालाई फोहर संकलन सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष थापाले वातावरणीय सरसफाईमा स्वयं नागरिक नै सचेत बन्नुपर्ने बताउँदै हीरक जयन्तीलाई सफल बनाउने दायित्व सबैको भएको बताउनुभयो । हीरक जयन्तीकै पुर्वसन्ध्यामा सोमबार प्रभातफेरि तथा झाँकी प्रर्दशन र मंगलबार बिहान रक्तदान र भव्य समारोहका बिचमा कार्यक्रमको उद्घाटन हुने प्रचार समितिले जनाएको छ ।
जयन्तीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले गर्नुहुनेछ । तीन महिनासम्म संचालन हुने हीरक जयन्तीका कार्यक्रम मनाउन करिब ४१ लाख १० हजार रुपैँया खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था, भुपु विद्यार्थी, विज्ञापनदाता, लगायतबाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिनुभयो । स्थापनाको १७ वर्ष पछि २०२१ सालमा पहिलोपटक तत्कालिन प्रवेशिका परीक्षामा सहभागी गराएको विद्यालयले हालसम्म उत्कृष्ट स्थान हासिल गर्दै सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा उत्कृष्ट तेस्रो र कास्की जिल्लामा दोस्रो बन्न सफल भएको छ ।