१६ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा प्रतेक वर्ष आयोजना हुने सो म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । फाल्गुन ७ गते हुने ४२.१९५ कि.मि.सो प्रतियोगितामा १६२ जना प्रतिस्पर्धाले प्रतिस्पर्धी गर्ने भएका छन् । उक्त प्रतियोगितामा मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्याण्ड, अमेरिकाका १४ जना सहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट गरी १६२ जना सहभागी हुने मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । यस प्रतियोगिताका विजेताले नगद रु ४ लाख सहित बेलायतको म्याराथनमा सहभागिता जनाउन पाउने भएका छन् भने उप–विजेताले नगद रु २ लाख, तृतीय हुनेले रु १ लाख र चौथोले रु ३० हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ धवक खेलाडीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद रु १ लाख, उप–विजेताले नगद रु ७५ हजार, तृतिय हुने धावकले ५० हजार र सान्त्वनाले १५ हजार प्राप्त गर्ने भएका छन् ।
यस्तै यस पोखरा सफल म्याराथनलाई पोखरेली मञ्च यूकेले रु ५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ । यूकेमा रहेका नेपालीहरुबाट पोखरा म्याराथनलाई आर्थिक सहयोगका लागि रकम संकलन गरिएको हो ।
त्यस्तै पत्रकार सम्मेलनमा बाल्दै मञ्चका अध्यक्ष पराजुलीले आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तराष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजनासंगै पुरस्कारको राशी रु १० लाख पु्याउने लक्ष्यका साथ मञ्च अगाडी बढि रहेको पनि जानकारी दिएका छन् ।