केन्याली धावकले हात पारीन् पोखरा म्याराथनको उपाधी
  • प्रमुख खबर

१६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याली धावक स्टेफल कोसगाइ प्रथम भएका छन् । उनले ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् । उनले नगद चार लाख रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।प्रतियोगिताको दोस्रो स्थान पनि केन्याकै धावक सिमिओन किप्लागोट टुले हात पार्न सफल भएका छन् । उनले उक्त दूरी दुई घण्टा २१ मिनेट तीन सेकेण्डमा पार गर्दै नगद रु दुई लाखसहित मेडल प्राप्त गरे ।

यसैगरी नेपाल आर्मीका मोहनदेव जोशीले दुई घण्टा ३३ मिनेट २४ सेकेण्डमा सो दूरी पूरा गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्दै नगद रु एक लाख प्राप्त गरेका छन् भने सशस्त्र प्रहरी गण एपिएफका सन्तोष विक्रम विष्टले दुई घण्टा ३४ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्दै रु ३० हजार नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगिताअन्तर्गतको हाफ म्याराथन महिलातर्फ नेपाल प्रहरीकी राजपुरा प्रसाईं प्रथम हुन सफल भएकी छन् । २१ किलोमिटर दूरीको उक्त दौड उनले एक घण्टा २१ मिनेट २६ सेकेन्डमा पूरा गर्दै रु एक लाख नगद पुरस्कार जित्न सफल भएकी हुन् । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)का वृद्धा श्रेष्ठले एक घण्टा २७ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्दै रु ७५ हजार नगर पुरस्कार प्राप्त गरेकी छिन् ।

म्याराथनमा जुम्लाकी राममाया बुढा तेस्रो भइन् । उनले उक्त दूरी एक घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गर्दै नगद रु ५० हजार प्राप्त गरिन् । एक घण्टा ३२ मिनेट ५८ सेकेन्डमा सो दूरी पूरा गर्दै युकेकी हन्नाच कारासले रु १५ हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकूदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताका प्रमुख संरक्षकसमेत रहेका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए ।

मञ्चका महासचिव कृष्ण तिमिल्सनाका अनुसार पोखरा रङ्गशालाबाट सुरु भएको दौड पृथ्वीचोक, मुस्ताङचोक, विरौटा र छोरेपाटनबाट फर्केर पुन विरौटा हुँदै राष्ट्रबैंक चोक, फेवाताको किनारा लेकसाइड, डिहीको पाटन, सभागृहचोक, नयाँसडक, हरिचोक, केआइसिंह पुल, नारायणस्थान, फूलबारी, पुरानोधारा, चाउथे, बलभद्र मावि, रामबजार हुँदै रङ्गशालामा आएर समापन भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्