होटल संघ पोखरा नेपालको १७ औं फेवा नव वर्ष महोत्सव चैत्र ३० देखि हुने
  • प्रमुख खबर

होटल संघ पोखरा नेपालले नेपाली नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गर्ने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्य सहित “पर्यटन, संस्कृति र खाना” भन्ने नाराका साथ १७ औं फेवा नव वर्ष महोत्सव गर्ने भएको हो ।
कोभिड–१९ का कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्ने उद्देश्यसहित महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढाइएको आज आयोजित पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको छ । महोत्सव यही चैत्र ३० देखि बैशाख १ गतेसम्म लेकसाइड स्थित फिष्टेल गेट देखि हल्लनचोकसम्मको मुख्य सडकमा संचालन हुने भएको छ ।

होटल संघले यसअघि कोमागाने पार्कमा महोत्सव आयोजना गर्ने गरेको थियो भने यस वर्षदेखि नयाँ पनका साथ लेकसाईडको ३ किलोमिटर क्षेत्रमा रेवानकै शैलीमा सडकमा महोत्सव गर्ने भएको हो । महोत्सवको उद्घाटनको दिन खहरेचोक र ड्यामसाइडबाट विविध सांस्कृतिक झाँकीसहित ¥याली निस्केर लेकसाइडको मध्य क्षेत्र अम्बोटमा आएर उद्घाटन समारोहमा परिणत हुने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । नेपालका मुख्य शहरहरुमा अंग्रजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको पनि उनले बताएका छन् ।

सुवदेकी अनुसार महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त तथा स्थानीय कलाकारहरुद्धारा पप कन्सर्ट, लोकदोहोरी गित प्रस्तुती, हास्यव्यङ्गय एंव नृत्य प्रस्तुती रहने भएको छ । उनले महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनाहरुलाई ३० प्रतिशत छुट दिने घोषण पनि गरेका छन् । त्यस्तै उनले रेष्टुरेण्ट तथा बारहरुले पनि अहिलेको भन्दा शुल्क नबढाउने प्रतिबद्ता आफुहरुलाई जनाएको जानकारी दिएका छन् ।                                                                                                            संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन क्षेत्रलाई कोभिडले असर गरेतापनि पछिल्लो समयमा पर्यटकीय गन्तव्यहरुका साथै पूर्वाधारहरु थपिएकाले पर्यटकको बसाई लम्बिने स्थिति बनेको बताएका छन ्। यस्तै संघका पूर्व अध्यक्ष विकल तुलाचनले कोभिड–१९ बाट थलिएको पर्यटन पुनरुत्थान गर्न यस महोत्सव कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरेका छन् । यस वर्ष होटल संघले महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएर प्रवेश निःशुल्कको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्