बुधबारदेखि पोखराको लेकसाइडमा आयोजना हुने १७ औं फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । होटल संघ नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्धन गर्ने मुख्य उद्देश्य सहित चैत्र २८ अर्थात भोलिबाट महोत्सव शुरु भई बैशाख १ गतेसम्म चल्ने भएको छ । महोत्सव फिष्टेल गेटदेखि हल्लनचोक बिचको तीन किलोमिटर लामो सडकमा संचालन हुनेछ । संघले यसअघि खुल्ला मैदानमा आयोजना गर्दै आएको महोत्सवलाई यस वर्ष भने रेवान पोखराकै शैलीमा सडकमा नै गर्ने भएको छ ।
संघका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको जानकारी दिएका छन् । महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमे बहादुर आलेले गर्ने भएका छन् । महोत्सव उद्घाटन अघि लेकसाइडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको याली निस्किनेछ भने दुवैतर्फको याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगरे उद्घाटन समारोहमा परिणत हुने सुबेदीले बताएका छन् ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्व दिएर हर्षोउल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय यस महोत्सवले लिएको पनि उनले बताएका छन् । त्यस्तै सुवेदीका अनुसार अहिले पोखराको होटलमा २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ वर्ष लक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको बताएका छन् । उनले संघमा आवद्ध रहेका होटलहरुबाट छुट दिने व्यवस्था मिलाइएको जानकारी दिँदै सो अवसरमा स्थानिय अन्नपूर्ण केबलकारले १० प्रतिशत छुट दिने घोषण गरेको पनि बताएका छन् ।
महोत्सव अवधिभरका लागि रात्रीकालिन बस तथा ट्याक्सी सेवा उपलब्ध हुनेसंघले जानकारी दिएको छ । सो महोत्सवमा मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्ता कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायतका कार्यक्रमहरु रहने जनाइएको छ ।