जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।
जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।
शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन । यो समाचार ईकान्तिपुर बाट साभार गरिएको हो