द हिडन टेजरले मिस नेपाल पेजेन्ट २०२२ को लागि औपचारिक रुपमा आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
आवेदन फाराम यही बैशाख ३१ गतेसम्म खुल्ला रहने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै द हिडन टे«जरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना महामारीका कारण २०२० र २०२१ गरि दुई वर्ष प्रतियोगिता संचालनमा धेरै चुनौतिहरु आएको बताएका छन् । नेपालमा मात्रै नभएर यसको असर विश्वभर नै रहन गएको पनि उनले बताएका छन् ।
कोरोना महामारीको समयमा कतिपय देशले पेजेन्ट स्थगित गरेका थिए भने कतिपय देशले रद्द नै गरेका समेत थिए । तर यस द हिडन टे«जरले मुस्किल समयमा पनि कोभिडको जोखिमबाट बच्न सम्पूर्ण सावधानीका नियमहरु पलना गरेर मिस नेपाल पेजेन्ट २०२० संचालन गर्न सफल भएको उनले जानकारी गराएका छन् । जसमा मिस नेपाल वल्र्डको ताज पहिरन नम्रता श्रेष्ठ सफल भएकी थिइन् । तर पून दोस्रो लहरको रुपमा फैलिएको ओमिक्रोन भाइरसका कारण मिस नेपाल २०२१ सम्पन्न गर्न भने नसकेको उनले बताएका छन् । यस पटक भने मिस नेपाल पेजेन्टमा केही परिवर्तनहरु देख्न पाउने अध्यक्ष राजकर्णिकारले जानकारी दिएका छन् । पहिलो पटक झण्डै ३ हजार क्षमताको हलमा मिस नेपालको फाइनल सम्पन्न हुने बताईएको छ । यस वर्षबाट भने प्रतियोगिताको उचाई ५ फिट ४ इन्चबाट घटाएर ५ फिट ३ इन्चको मापदण्ड बनाएको पनि राजकर्णिकारले जानकारी दिएका छन् ।
त्यस्तै यसै वर्षदेखि प्रतियोगिताको उमेर १८ देखि २७ वर्षसम्म कायम गरिएको बताईएको छ । यस वर्ष पेजेन्टमा तीन वटा मुख्य टाइटल रहने छन् जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने भएको हो । अघिल्ला वर्षहरुमा निरन्तर रुपमा रहँदै आएको मिस सुप्रानेशनल को फ्रेन्चाइज भने यो वर्ष नरहने भएको छ । पूर्वदेखि पश्चिमसम्मका महिला प्रतिनिधिहरुले मिस नेपालमा सहभागीता जनाउन सकोस् भन्ने आफुहरुको उद्देश्य भएको र मिस नेपालको पेजेन्टलाई अझैं फराकिलो बनाउनका लागि सातैं प्रदेशमा नै अडिसन मिति तोकेको पनि अध्यक्ष राजकर्णिकारले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
पोखरा, विरगंज, धरान, धनगढी, नेपालगन्ज, सुर्खेत र काठ्माण्डौंमा बैशाख ९ अर्थात भोलिदेखि २७ गतेसम्म अडिसन मिति तोकेको बताईएको छ । त्यस्तै धेरै वर्षपछि पुन आफुहरुले मुख्य प्रायोजकको रुपमा डावर बाटिकालाई स्वागत गर्न पाएकोमा खुशी समेत व्यक्त गरेका छन् । यस्तै सन् १९९७ मा सुरु भएको मिस वल्र्ड अर्गनाईजेशन र आफुहरुको सौहार्दपूर्ण तथा व्यवसायिक सम्बन्धको यात्रा २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा २५ औं वार्षिक उत्सव मनाउन गईरहेको पनि जानकारी दिएका छन् ।