पोखरा । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै छ । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र कृतज्ञता व्यक्त गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाइन्छ ।
आजका दिन छोराछोरीले आमालाई मीठामीठा परिकार बनाई खुवाउने र उपहार दिएर आशिर्वाद लिने चलन छ । विवाह गरी गएका चेली आज आमाको मुख हेर्न माइती आउँछन् ।
आमा हुनेहरुले आजका दिन मीठा–मीठा परिकार र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिई आशीर्वाद लिन्छन् आमा नहुनेले आज आमालाई तर्पण र पिण्ड दिई पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको आत्माको मुक्तिको कामना गर्छन् ।
आजका दिन मातातीर्थस्थित कुण्डमा स्नान गरी दान गरेमा दिवंगत हुने आमाको छोरा–छोरीले तिर्नुपर्ने ऋणबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।
किंवदन्तीअनुसार, द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थ कुण्डमा खसेको थियो । कुण्डमा खसेको रोटी हेर्दा पानीमा दिवंगत आमाको मुख देखेर ग्वाला रुन थालेका थिए ।
संयोगले त्यो दिन वैशाख कृष्ण औँसी थियो । खासमा भगवान् श्रीकृष्णले ग्वालालाई कुण्डमा आमाको दर्शन गराएका थिए । त्यसबेलादेखि नै वैशाख कृष्ण औँसीका दिन मातातीर्थ कुण्डमा गएर दिवंगत आमाको दर्शन गर्ने चलन चलेको जनविश्वास छ ।