तिर्थ के.सी
पोखरा । नेकपा एमालेकी नेतृ राधिका कुमारी शाही पोखरा महानगरपालिकाको एक्ली महिला वडा अध्यक्ष बन्न सफल भएकी छन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई ८६ मतले हराउँदै पोखरा–१७ को वडा अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनले २६ सय २५ मत प्राप्त गर्दा देवराजले २५ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका ओम बहादुर पौडेले ५ सय ७६ र राप्रपाका धन विक्रम मल्लले ३ सय ३७ मत प्राप्त गरेका छन् । सो वडामा एमालेको प्यानल नै विजयी भएको छ । यसअघि शाही सोही वडाको वडा सदस्य र महानगर कार्यपालिका सदस्य थिइन् ।
उनले पोखरा–१७ मा स्वास्थ्य स्वयंसेवीका भएर समेत काम गरेकी थिइन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा जन्मिएकी शाहीको कर्मक्षेत्र पोखरा हो । उनी पोखराका एमाले नेतृमध्ये निकै सकृय राजनीतिज्ञमा पर्छिन् । उनी एमाले कास्की जिल्ल कमिटि सदस्य पनि हुन् । पोखरामा एमालेले शाहीसहित अन्य दुई जनालाई वडाको वडा अध्यक्षमा महिला उम्मेदवारको रुपमा उठाएको थियो । त्यस्तै अन्य पार्टीहरुले समेत पोखराका केही वडाहरुमा वडा अध्यक्षका रुपमा महिला उम्मेदवारलाई उठाएको थियो तर शाही पोखरा–१७ बाट एकमात्र महिला वडा अध्यक्ष भएकी छन् ।