बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको विषयलाई लिएर उच्च अदालत पोखरामा मुद्धा दर्ता
  • प्रमुख खबर

पोखरा ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणामको विषयलाई लिएर उच्च अदालत पोखरामा मुद्धा दर्ता भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष पदका उम्मेदवार पुष्कल बहादुर थापाले मत गणनाको क्रममा निर्वाचन आयोगले खसेको मतको मुचुल्का उठाए भन्दा ९ मत कम भएको भन्दै बुधबार उच्च अदालमा मुद्धा दर्ता गरेका हुन् । थापाले राष्ट्रिय निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडा अध्यक्ष नेपाली काँग्रेसका शिव बहादुर तिमिल्सिनालाई विपक्ष बनाई मुद्धा दर्ता गरेका हुन् ।
कुल मतदाता संख्या ५ हजार ८ सय ४३ रहेको सो वडामा जम्मा ४ हजार ३ सय ४८ मत मात्र खसेको थियो । तर खसेको मतमा समेत ४ हजार ३ सय ३९ मत मात्र गणना भएपछि थापाले असन्तोष्टि व्यक्त गर्दै आईरहेका छन् । थापाका अनुसार वडाको १ हजार ४ सय ४८ मत गणना गर्न बाँकी हुदाँ गणकहरुले गणना गर्ने स्थल अलि साघुँरो भएको भन्दै फराकिलो ठाउँमा मत गणना गर्दा सहज हुने र छिटो पनि हुने भन्दै गणना गर्ने स्थल परिवर्तन गरेका थिए । सो क्रममा सटिङ्ग गरेको मत पत्र ५०÷५० का दरले प्याकेजिङ गरिएको थियो ।
प्याकेजिङको क्रममा ५०÷५० मत पत्रका दरले २९ वटा पोका रहेका थिए । जसमा ५० दरको २८ र ४८ दरको एक पोका हुनुपर्नेमा ४८ मत पत्र भएको पोकामा ३९ मत मात्र रहेको थियो । सोही समयमा नै मत कम देखिएपछि नेकपा एमालेका प्रतिनिधिहरुले प्रश्न गर्दा आयोगका कर्मचारीहरुले मत कतै केही नभएको भन्दै ढुक्क हुनुस् भन्दै आफुहरुको कुरालाई व्यवास्ता गरेको बताउँदै गणना गर्ने स्थल परिवर्तन गर्दा मतपत्र हराएको एमाले प्रतिनिधिहरुले बताएका छन् ।
अघिल्लो दिन शुरु भएको मत गणना भोलिपल्ट विहान करिब ४ बजे मत गणना सहिय पछि एमाले प्रतिनिधिहरुले ९ मतको हिसाब नआएको भन्दै मत परिणाममा हस्ताक्षर नगरी बाहिर निस्किएका थिए । तत्काल हस्ताक्षर गर्न फोन गरि बोलाइएको भएपनि हराएको मतको विषयमा केही कुरा पनि नगरेको हुदाँ नेकपा एमालेका प्रतिनिधिहरु उक्त विषयको उजुरी दर्ता गर्नको लागि तत्कालै निर्वाचन आयोगको कार्यालय गएका थिए ।
सो दिन कार्यालय समय सकिएको भन्दै भोलि विहान १० बजे कार्यालय समयमा मात्र उजुरी लिने भन्दै आयोगका कर्मचारीले उनीहरुलाई फिर्ता गरिदिएका थिए । भोलि पल्ट विहान आफुहरुले नेकपा एमाले प्रदेश कमिटिको पत्र लिई पुर्न मत गणना गरि पाउँ भनी निवेदन पेश गरेपनि निवेदन उपर कुनै कार्वाही हुन सकेन । मत परिणाम अनुसार वडामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पुष्कल बहादुर थापा नेपाली काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार शिव बहादुर तिमिल्सिनासंग जम्मा ३ मतान्तरले पराजित भएका छन् । तर ९ मत हराउनुले परिणाम लोकतान्त्रिक नभएको एमालेका वडा कमिटिका सचिव शालिकराम तिमिल्सिनाले बताएका छन् ।
उनले आयोगका प्रमुख आयुक्तले भन्ने बेलामा चपाउन र च्यात्न नमिल्ने मत भन्ने अनि अहिले कहाँ हरायो त ९ मत भन्दै खेद व्यक्त गरेका छन् ।
त्यस्तै एमालेका अध्यक्ष पदका उम्मेदवार थापाले हार जित स्वभाविक भएको र जसले जिते पनि जनताको मतको सुरक्षा हुनुपर्नेमा उल्टै ९ मत हराउनु यो अलोकतान्त्रिक भएको र हतार–हतारमा हराएको मतको कुनै खोजी नभई विजयी घोषणा गर्नु गलत भएको बताएका छन् ।उनले सत्य तथ्य छानबिन गरेर पुन मतगणना गर्नुपर्ने भन्दै आफुहरुले मुद्धा दर्ता गरेको जानकारी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्