पोखरा ।
एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।
दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन दिएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाउन सफल भएको थियो ।
नेपालका लागि कप्तान रुविना क्षेत्री र उप–कप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरेका थिए । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दुले ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहेका थिए । त्यस्तै ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोड्न सफल भएका थिए ।