पोखरा ।
सरिता गुरुङ्ग
पोखरामा जारी छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप प्रतियोगितामा खुमलटार युथ क्बललाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
हेमजाको गौरी शंकर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलले हराउँदै आयोजक हेमजाले फाइनलको यात्रा तय गर्न सफल भएको हो ।हेमजाको जितमा दुवै गोल कमल थापा मगरले गरेका थिए ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको यस खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने आयोजक हेमजाले २ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
हेमजाको लागि कमल थापाले खेलको ५३ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ठ प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै खेलको ६७ औं मिनेटमा उनले पून दोस्रो गोल गर्दै आफ्नो टिमलाई फाइनलसम्मको यात्रा पक्का गरेको हो ।
पहिलो हाफसम्म निकै राम्रो खेल प्रदर्शन गरेको खुमलटारले दोस्रो हाफमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन । खुमलटारको त्यही कमजोरीको फाइदा उठाउँदै आयोजक हेमजाले आज भएको खेलमा जित हासिल गरेको हो ।
यस प्रतियोगिता अन्र्तरगत भोलि विहिबार फाइनल प्रवेशका लागि हुने अन्तिम सेमिफाइनल खेलमा अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइजबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अषाढ ४ देखि जारी भएको यस गोल्डकप प्रतियोगितामा आयोजक हेमजा युनाइटेड सहित नेपालका उत्कृष्ट ए श्रेणी एंव मोफसलका क्लबहरु विरगंज युनाइटेड, खुमलटार युवा क्लब, बाग्मती युवा क्लब, चर्च ब्वाइज एफसी, कालिका स्पोर्टस एकेडेमी, एभिनियर एफसी डाउला र एपिएफ गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो ।