गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘गण्डकी प्रज्ञा उत्सव’ आजबाट शुभारम्भ भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शुभारम्भ गर्नु भएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि गुरुङ, कवि तथा कलाकार रमेश श्रेष्ठ, उपकुलपति गोरे गुरुङ तथा कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बोल्नुभएको थियो । प्रमुख अतिथि गुरुङले सोही कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको कार्यालय परिसरमा निर्माण गरिएको पुस्ताकालय र लोकबाजा संग्राहलयको उद्घाटन समेत गर्नुभएको थियो ।
गण्डकी प्रज्ञा उत्सब तीन दिन सम्म चल्नेछ । उत्सवको पहिलो दिन आर्ट कार्यशाला आयोजना गरियो । कार्यशालामा बरिष्ठ कलाकार गोपाल श्रेष्ठ, कवि तथा कलाकार रमेश श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ सहितका गण्डकी प्रदेशका बिभिन्न जिल्लाका २० जना कलाकारको सहभागिता रहेको थियो । दोस्रो दिन शुक्रबार गजल, कविता, मुक्तक र लघुकथा बाचन तथा “धनिरामको गोरु” नाटक मञ्चन हुनेछ । यस कार्यको लागि पोखरेली यूवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुने प्रतिष्ठानको भनाई छ । साहित्यिक कार्यक्रम तर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ । केदारनाथ पौडेलले लेखेको नाटक ‘धनिरामको गोरु’ कपिल शर्माको निर्देशनमा तयार हुनेछ । नाटकमा राजेन्द्र अधिकारी, ज्योती हमाल, बिभु भुषाल, प्राञ्जल, निलम तामाङ, आकाश दाहाल, अनिल तिमील्सिना, बिजय अधिकारी, विनोद पौडेल, विकास पौडल, प्रमिसा शिलवाल लगायतको अभिनय हेर्न पाइनेछ ।
अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्ताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको सदस्य सचिव श्रेष्ठको भनाई छ ।