नेपाल भूतपूर्व खेलाडी मञ्चले “छैटौं पोखरा स्पोर्टस अवार्ड” लाई सहयोग गर्ने
  • प्रमुख खबर

पोखरा ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले “छैटौं पोखरा स्पोर्टस अवार्ड” लाई सहयोग गर्ने भएको छ । यही अषाढ १८ गते हुने स्पोर्टस अवार्डलाई सफल बनाउन मञ्चले नगद ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

मञ्चले सो रकम अवार्ड अन्तर्गत प्रदान गरिने लाइफ टाइम एचिभ्मेन्ट अवार्ड वापत सहयोग गर्ने भएको हो । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली र खेलकुद पत्रकार मञ्चका अध्यक्ष दिननाथ बरालले सो सहयोग बारेको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्तान्तरणमा मञ्चका अध्यक्ष पराजुलीले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड अन्तर्गत अग्रज खेलाडीहरुको सम्मानमा प्रदान गरिने लाइफ टाइम एचिभ्मेन्ट अवार्डका लागि सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

उनले आफुहरु पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको तयारीमा समेत भएकोले खेलकुद पत्रकार मञ्च र भूतपूर्व खेलाडी मञ्चबीच भएको यस सहकार्यले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन् ।

त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले मञ्चले गरेको यो सहयोग र सहकार्यले अवार्ड कार्यक्रम सफल बनाउन ठूलो सहयोग पुगेको बताउँदै उक्त सहयोगको लागि आभार व्यक्त गरेका छन् ।

उनले अवार्ड सफल बनाउन देश विदेश लगायत विभिन्न संघ संस्थाबाट सहयोग आउने क्रम जारी रहेको जानकारी समेत दिएका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने अग्रज खेलाडीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ । यस अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार प्राप्त गरिने भएको छ भने वर्ष उत्कृष्ट खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारसहित ट्रफी प्रदान गरिने भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्