सरिता तामाङ, पोखरा
कास्की जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट पोखरामा शुरु भएको छ ।
पोखरा रंगशालामा शुरु भएको उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ्गले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सो प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्य गुरुङ्गले यस प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले खेलकुदका लागि विद्यालय नै मुख्य आधार केन्द्र भएको बताउँदै उनीहरुको भविष्यसंग गाँसिएका विषयमा पालिकाहरु गम्भिर बन्नुपर्ने बताएका छन् । उनले पोखरा रंगशालाको सुरक्षा र सरसफाई यति बेला मुख्य चुनौतीको विषय भएकोले सबैले मिलेर अनि हातेमालो गरेर रंगशाला हाम्रो हो भन्ने भावनालाई आत्मसात गर्न आग्रह समेत गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाईहरु राखेका थिए । दुई दिन सम्म चल्ने सो प्रतियोगितामा कास्कीका ३ गाउँपालिका रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकासहित पोखरा महानगरको सहभागिता रहेको छ । सो प्रतियोगितामा मादी गाउँपालिकाको सहभागिता भने छैन । त्यस्तै रुपा गाउँपालिकाले भने भलिबल खेलमा मात्रै सहभागिता जनाएको छ । प्रतियोगितामा छात्र–छात्रा तर्फ एथलेटिक्स, भलिबल, कव्वडी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुनेभएको छ ।