पोखरा ।
पोखरा १६ बाटुलचौरमा अबस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको छ।
साथै गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका रहेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७८/०७९ सम्म ५ वर्षको सो सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको थियो । परीक्षणमा विद्यालयमा लगानी, प्रक्रिया र उपलब्धि लगायत ७९ सूचक थिए । सो परीक्षणमा गण्डकी प्रदेशका मात्रै ५ सय ७० विद्यालय थिए ।
२००४ सालमा स्थापित विन्ध्यवासिनी यस क्षेत्रमा शैक्षिक गुणस्तरमा राम्रो नतिजा हासिल गर्दैआएको विद्यालयमा पर्दछ । कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने यहाँ ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय संचालित छ । यहाँ १२ सय ५० विद्यार्थी पढ्छन् भने शिक्षक र कर्मचारी गरी ७० जना छन् । १३ रोपनीमा फैलिएको विद्यालयमा हालैमात्र पुनःनिर्माण प्राधिकरणको सहयोगमा ३२ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको छ।
बाटुलचौरमा अबस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय देशभरीबाट ५ नम्बर भित्र पर्न सफल भएको र गण्डकी प्रदेश भित्र एक नम्बरमा पर्न सफल भएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा लगायत समितिका सम्पूर्ण सदस्य र विद्यालय का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायत विद्यालयका सम्पूर्ण शिक्षक अभिभावक विद्यार्थीहरु सबैले खुसी व्यक्त गरेका छन् ।