पोखरा ।
सरिता गुरुङ्ग
गण्डकी प्रदेशको राजधानी पोखरामा झण्डै ४ दशकपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको छ । यसअघि २०४० सालमा यस प्रदेशमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।
दोस्रो खेलकुद प्रतियोगिता भएको ३९ वर्षपछि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणको तयारी पूरा गरिसकेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखराको रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएको छ ।
प्रतेक दुई वर्षमा आयोजना हुँदै आएको यस राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमा नै सम्पन्न भईसक्नुपर्ने थियो तर कहिले तयारी नपुगेको भन्दै र कहिले कोभिडको महामारी देखाएर लगातार रुपमा राखेपले यस प्रतियोगितालाई सार्दै आएको थियो ।
लामो समयपछिको बहस र विभिन्न समस्याहरुलाई पार गर्दै अब यस प्रतियोगिता निर्धारित मिति भन्दा करिब २ वर्षपछि पोखरामा हुने तय भएको घिसिङले बताएका छन् । यस प्रतियोगिता आश्विन २८ देखि कात्तिकको ३ गतेसम्म संचालन हुने भएको छ । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भने बाँकेमा सम्पन्न भएको थियो ।
विशेषगरी विभिन्न खेलका सम्बन्धित संघहरुले सरकारले हालै मात्र घोषणा गरेको निर्वाचन मितिले यस प्रतियोगितालाई असर गर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए । तर यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मंसिर ४ मा हुने निर्वाचनले त्यति प्रभाव नपार्ने राखेप सदस्य सचिव घिसिङले बताएका छन् ।
उनले चुनाव र राष्ट्रिय खेलकुद प्रतियोगिता दुवै मन्त्रि परिषद्ले नै गरेको निर्णय भएकाले यसको लागि परामर्श र समन्वय भइरहेको बताएका छन् । त्यस्तै उनले यस प्रतियोगिताको मिति निर्वाचन भन्दा अगाडी नै मन्त्रि परिषद्बाट तय भएको हुनाले पनि कुनै किसिमको असर नपर्ने र प्रतियोगिताको मिति पनि नसर्ने स्पष्ट समेत पारेका छन् ।
यस पटकको यस प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । उक्त ३६ आधिकारिक खेलमा खेलाडीले ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय १ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । सात प्रदेश, तीन विभागिय टोली र एनआरएनएको एक टोलीले समेत प्रतियोगितामा सहभागिता जनाउने पनि घिसिङले जानकारी दिएका छन् ।
यस्तै यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रु १० लाख मुल्यको सुन र चाँदी जडित नयाँ ट्रफी “राखेप ट्रफी” भित्र्याउने समेत राखेपले आजको पत्रकार सम्मेलनमार्फत जानकारी समेत दिएका छन् ।