पोखरा ।
सरिता गुरुङ्ग
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा स्थापना भएको नवौं राष्ट्रिय खेलकुद २०७९ कार्यकारी समिति सचिवालयको आज उद्घाटन भएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द नेपाली पोखरेलले संयुक्त उक्त सचिवालयको उद्घाटन गरेका हुन् ।
सो उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नको लागि विभिन्न चरणका तयारीहरु तिव्र रुपमा अगाडी बढि रहेको बताएका छन् ।
यस प्रतियोगिता आश्विन २८ देखि कात्तिक ३ गतेसम्म यस प्रदेशका विभिन्न जिल्लाहरुमा हुने भएको छ । यस प्रतियोगितामा ३६ खेलहरु समावेश हुने भएका छन् ।
उक्त सचिवालयबाट नवौं राष्ट्रिय खेलकुदका सम्पूर्ण गतिविधिहरु जस्तै प्रतियोगिताको तयारी र त्यसपछि लगातार प्रतियोगिताका व्यवस्थापकिय पक्षहरु यसै सचिवालयबाट नै हुने भएकोले हरेक दिन आउने सकारात्मक सुझावहरुलाई आत्मासाथ गर्दै त्यसको कार्यान्यनको लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकालाई आवश्यक जानकारी र सुचित गराउन सम्बन्धीत सबै संघ र मातहतका कर्मचारीहरुलाई मन्त्री गहतराजले निर्देशन समेत दिएका छन् ।
त्यस्तै सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द नेपालीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस प्रदेशको राजधानी पोखरामा हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न संञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यस प्रतियोगितालाई देश विदेशमा पनि प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।
उनले यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका राष्ट्रका लागि एउटा अति गौरवको विषय भएको बताउँदै ३९ वर्षपछि पोखरामा आयोजना हुन गईरहेकोले पनि यसलाई सफल बनाउन हामी सम्पूर्ण प्रदेशबासीको दायित्व भएको बताएका छन् ।
यस्तै सो सचिवालय उद्घाटन कार्र्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले धेरै लामो समयको पखाईपछि यस प्रदेशमा सम्पन्न हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले हाम्रो समाजको तल्लो तहसम्म पनि हामी सबै विभाजित भएको तर विभाजित नभएको एउटै क्षेत्र भनेको खेल भएको र यस्ता प्रकारका खेलकुद प्रतियोगिताहरुले सबैलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने हुदाँ खेलकुदको माध्यमबाट पोखरालाई पनि विभिन्न क्षेत्रबाट अन्तराष्ट्रिय क्षेत्रमा पु्याउने लक्ष्य राखेको जानकारी दिएका छन् ।
कार्यक्रममा मेयर आचार्यले पोखरालाई पर्यटकिय शहर बनाउने भनेर नेपाल सरकारसमक्ष औपचारिक पत्राचार गरेर प्रक्रिया अगाडी बढाएको र यस प्रतियोगिताले सो कार्यको लागि थप टेवा पुग्ने समेत बताएका छन् ।
उनले पोखरा महानगरपालिका यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोकल होस्ट भएकोले राम्रा हुदाँको जस पनि हामीले पाउँने र नराम्रा हुदाँको अप्जस पनि हामीले खेप्नुपर्ने भएकोले आफुहरु अत्यन्तै जिम्मेवार भएर प्रतियोगितालाई सफलता पूर्वक सफल बनाउन कटिबद्ध भएर लाग्ने पनि स्पष्ट पारेका छन् ।
यसैबीच राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिका अनुसार नै काम अघि बढाइएको जानकारी दिएका छन् । उनले यही भाद्र २५ गतेभित्र खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोज १० गतेसम्ममा खेलगत इभेन्ट, खेल समय तालिकाका साथै खेल स्थानको जानकारी दिने पनि बताएका छन् ।