“मौलिक संस्कृतिको जर्गेना गरौं” भन्ने उद्घोषका साथ लामाचौरमा तीज महोत्सव २०७९ आयोजना हुने
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नव आर्दश सामुदायिक विकास समाज लामाचौरले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

“मौलिक संस्कृतिको जर्गेना गरौं”भन्ने उद्घोषका साथ यस संस्थाले यही भाद्र १२ देखि १४ गतेसम्म लामाचौरमा अवस्थित श्री इन्द्र राज्य लक्ष्मी मा.वि.को प्राङ्गणमा सो महोत्सव आयोजना गर्न लागेको हो ।     

तीज गित प्रतियोगितासंगै खेलकुदको छुट्टै ब्राण्ड बनाएको यस लामाचौर तीज महोत्सवले ९ औं संस्करणको लामाचौर कप महिला भलिबल प्रतियोगितालाई समेत निरन्तरता दिने भएको छ ।

यस महिला भलिबल प्रतियोगितामा नेपालका तीन विभागिय टिमसहित ५ टिम न्यू डायमण्ड युथ सपोटर्स, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश टिमको सहभागीता रहने भएको छ ।

यस्तै यस वर्ष थप आकर्षणका रुपमा लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता समेत संचालन हुने भएको छ । सो पुरुष भलिबल प्रतियोगितमा समेत तीन विभागिय टिम सहित ५ टिम मणिमुकुन्द भलिबल क्लब बुटवल, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश टिमको पनि सहभागिता रहने आज महोत्सवबारे जानकारी दिने उद्देश्यसहित आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।                         

यस लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता टिमले नगद रु १ लाख ५० हजार १ सय ११, उप–विजेता टिमले नगद रु १ लाख १ सय ११ र तृतिय स्थान हासिल गर्ने टिमले नगद ५० हजार १ सय ११ रुपैँया प्राप्त गर्ने भएका छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट विधाका खेलाडीलाई समेत आर्कषक पुरस्कारको व्यवस्था रहेको यस महोत्सवका संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिएका छन् ।

महोत्सव उद्घाटन भाद्र १२ गते भएतापनि भलिबल प्रतियोगिता अन्र्तगत उद्घाटन खेल भाद्र ११ गतेदेखि नै हुने समेत आयोजकले जनाएको छ ।

यस महोत्सवमा नर बहादुर बानिया स्मृति प्रदेश स्तरीय सितोरीयो कराँते प्रतियोगिता, पवित्र गणेश अन्तर माध्यमिक विद्यालय लोक नृत्य प्रतियोगिता र न्यू थापा स्टोर्स अन्तर महिला खुल्ला तीज गीत प्रतियोगिता समावेश रहेको कार्यक्रम संयोजक क्षेत्रीले बताएका छन् । उनले सो प्रतियोगिताका विजेताहरुलाई समेत आकर्षक नगदी पुरस्कारको व्यवस्था रहेको बताएका छन् ।

महोत्सव स्थलमा निःशुल्क प्रवेश गर्न सकिने आयोजकले बताएको छ भने राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हेर्नका लागि टिकट स्टिम हुने जनाएको छ ।                                                         

त्यस्तै यस नव आर्दश सामुदायिक विकास समाजको रजत जयन्ती वर्ष समारोह समेत रहेकाले यस वर्ष विभिन्न विधा तथा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने श्रष्टाहरुको उच्च मुल्याङ्कन सहित सम्मान समेत गरिने भएको छ ।

पोखरा आसपासमा हुने विभिन्न मेला महोत्सव भन्दा केही पृथक रुपमा प्रतेक वर्ष आयोजना हुने यस महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आंकलन गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्