पोखरा ।
सरिता गुरुङ्ग
पोखरा महानगरपालिका–९, नयाँबजार स्थित गुरुकुल विद्या सदनले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् । एसर्ईई पास भएर विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई सो विद्यालयले स्वागत गरेको हो ।
विशेषगरी यस कार्यक्रम विद्यार्थीहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्न, उनीहरुलाई अध्ययनको क्षेत्रमा हौसला प्रदान गर्न र एउटा पारिवारिक वातावरणको महशुस अनुभुती गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरेको कक्षा १२ का कोर्डिनेटर बसन्त कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनले विद्यार्थीहरुसंग नजिक भएर उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र स्वयम विद्यार्थीहरुले समेत गुणस्तरीय शिक्षा हासिल गर्नका लागि यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुका लागि आयोजना गरिएको यस कार्यक्रमले सकारात्मक र प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
उनले विद्यालयले आयोजना गर्ने यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुलाई मानसिक रुपमा पनि सकारात्मक उर्जा दिने, उनीहरुको प्रतिभा समेत प्रस्पुटन हुने र विद्यालय एंव शिक्षकहरुसंग नजिक भएर उनीहरुले प्रभावकारी रुपमा शिक्षा हासिल गर्न मद्दत पुग्ने पनि बताएका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित गण्डकी विश्व विद्यालयका विज्ञान तथा प्रविधि संकायका एकेडेमीक डिन डा.कपलि अधिकारीले शिक्षा भनेको ज्ञानको सागर भएको बताउँदै शिक्षा विना मानिस पूर्ण हुन नसक्ने बताएका छन् ।हामीले आफ्नो जिवनयापन गर्नका लागि तयार पार्ने एउटा माध्यम भनेको नै शिक्षा भएको उनले जानकारी दिएका छन् ।
प्रमुख अतिथि अधिकारीले मानिसले शिक्षा आर्जन गर्ने मूख्य औपचारिक ठाउँ भनेको नै विद्यालय, क्याम्पस आदि भएको र यीनै ठाउँबाट विद्यार्थीहरुले ज्ञान अर्थात शिक्षा हासिल गर्ने पनि बताएका छन् ।विद्यार्थीहरुलाई ज्ञान र शिक्षा दिने सवालमा यस गुरुकुल विद्या सदनले महत्वपूर्ण भूमिका निवार्ह गरिरहेको समेत जनाएका छन् ।
उनले विद्यार्थीहरुको भविष्यको पहिलो खुड्किलो अब कक्षा ११ बाट शुरुवात भएकाले विद्यार्थीहरुले पनि अनुशासितपूर्वक विद्यालयको नियमभित्र बसेर अध्ययन गर्न जरुरी भएको जानकारी समेत दिएका छन् ।
त्यस्तै अधिकारीले शिक्षा मानिसको यस्तो अमूल्य स्थायी सम्पत्ति भएको जुन उसको साथमा कुनै पनि ठाउँमा, कुनै पनि समय र कुनै पनि परिस्थितिमा स्थायी रुपमा नै रहने पनि स्पष्ट पारेका छन् ।
यसैबीच सो स्वागत कार्यक्रममा भुवन सुवेदीले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका छन् । यस्तै उक्त कार्यक्रममा जागरण एकेडेमी र रिट्रिट सेन्टर, काठ्माण्डौंका मोटिभेसनल स्पिकर डा.तारा जीले विद्यार्थीका साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकहरुलाई अभिमुखीकरण पनि गराएका छन् ।
कक्षा १२ का विद्यार्थी सौजन तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व विद्यार्थी प्रसन्न भण्डारी, इन्जिनियर धर्मराज कोइराला, प्राचार्य नारायण आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवी देवी बास्तोला, अमृत बराल लगायतले आ–आफ्नो भनाई राखेका छन् ।