पोखरा ।
पोख्रेली ट्याक्सी सेवा प्रा.लि.को चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार पोखरामा भव्य कार्यक्रमको आयोजना गरि प्रा.लि. ले आफ्नो चौंथो साधारण सभा सफलताका साथ सम्पन्न गरेको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा मन्त्री खड्काले प्रदेशमा स्वचालित मूल्य प्रणाली लागु गरिने बताएका छन् ।
उनले इन्धको मूल्य बढ्दा स्वाचालित रुपमा सवारी भाडा दर वृद्धि हुने र मूल्य घट्दा भाडा दर घट्ने गरी मूल्य प्रणाली तत्कालै लागु गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री खड्काले मुल्यवृद्धिपछि भाडा समायोजनका लागि यातायात व्यवसायीहरुले मन्त्रालयमा निवेदन लिएर आउनुपर्ने र मन्त्रालयलाई झक्झकाउन पटक–पटक मन्त्रालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने गरी मन्त्रिपरिषदबाट निर्णय गर्न गरी यस पेशामा लागेकाहरुलाई सम्बोधन गर्न लागिएको समेत जानकारी दिएका छन् । उनले मन्त्रिपरिषदमा प्रश्ताव लगेर स्वचालित भाडा दर लागु गर्न र भाडा समायोजन गर्न सरकार तयार भएको तर ट्याक्सी चालकहरुलाई नियम पालना गरेर मिटरमा गुडाउने दायित्व समितिको भएको बताएका छन् । उनले सो कार्यक्रममा सरकारलाई मात्र दोष दिएर नहुने पहिला आफुहरुले सरकारले लागु गरेका कतिपय राम्रा कुराहरुलाई आत्मासाथ गरेर पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । यस पेशालाई मानिसहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न यस पेशा अप्नाएकाहरुले पनि अनुशासित र मर्यादापूर्वक नियमहरुको पालना गर्नुपर्ने स्पष्ट पारेका छन् ।
मन्त्री खड्काले अझैपनि कतिपय ट्याक्सीहरु मिटरमा नचलेको र उनीहरुले अझैपनि आफ्नै ढङ्गमा मनपरी भाडा असुलिरहेको पनि बताएका छन् । यसरी अझैपनि ट्याक्सी मिटरमा नचल्नु भनेको राज्य र पेशाप्रति बेइमानी भएकोले राज्यसंग गरेका सम्झौतालाई पालना गर्नुपर्नेमा स्पष्ट पारेका छन् । उनले २० वर्ष पुगेका सार्वजनिक सवारी संचालनमा रोक लगाउने नीति संघीय सरकारको भएकोले प्रदेश सरकारले त्यसलाई उल्टाउन नसक्ने जनाएका छन् ।
त्यस्तै उनले यो सरकार बोल्ने भन्दा पनि काम गरेर देखाउने भएकाले यस पेशा अप्नाएकाहरुले इमान्दारपूर्वक तत्काल आफ्नो ट्याक्सीमा मिटर जडान गरेर यात्रुहरुले भनेको ठाउँमा जानुपर्ने र विभिन्न सामाजिक संजालमा प्रचारप्रसार गरेर, एप्स बनाएर जतिपनि रातो नम्बर प्लेटका गाडीहरुले पछिल्लो समय यात्रुहरु बोक्ने काम गरिरहेको छ तीनीहरुले तत्काल सो कार्य रोक्नुपर्ने, नरोकिएको क्रममा भने सरकारले तीनीहरुलाई कारबाही गर्ने पनि बताएका छन् । त्यस्तै सोही कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले प्रदेश सरकारले वि.सं.२०६९ मा लागु गरिएको अवैज्ञानिक सवारी भाडा दर समायोजन गरेर स्वरोजगार व्यवसायी तथा चालकहरुमा हौसला दिएकामा आभार व्यक्त गरेका छन् ।
उनले सरकारले स्वाचालित भाडा दर लागु गरेर मन्त्रालय धाइरहनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्ने र यस पेशामा लागेका आफुहरु अबका दिनहरुमा रुन नपर्ने विश्वास व्यक्त गर्दै उनले स्वचालित भाडादर लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष तिवारीले सरकारले ल्याएको २० वर्ष पूराना सवारी विस्थापित गर्नुपर्ने नीतिले खाडी मुलुकमा श्रम गरेर थोरै–थोरै बचतबाट ट्याक्सी व्यवसायमा प्रवेश गरेका व्यवसायीहरु निकै मारमा परेकोले सरकारले ल्याएको यस नीतिप्रति पुन विचार गर्नुपर्ने माग पनि राखेका छन् ।
उनले यसरी आफुहरुको गाडीको आयु २० वर्ष तोक्नु भन्दा पनि यसलाई मेन्टेन गरेर चलाएको खण्डमा धेरै वर्ष चल्न सक्ने तर सरकारले त्यसतर्फ ध्यान नदिएको बताएका छन् । यदि आफुहरुले गाडीलाई कन्डिसनमा राख्न नसकेको खण्डमा ५ वर्षमा पनि गाडी विस्थापित गर्न तयार भएको तर त्यसलाई राम्रोसंग मेन्टेन गरेर कन्डिसनमा राखेको छ भने त चलाउन पाउनुपर्ने र सरकारको उक्त नीति अवैज्ञानिक भएकोले यसले यस व्यवसायलाई अत्यन्त पिडामा राख्ने काम गरेको जनाएका छन् । यस्तै सोही कार्यक्रममा समितिलाई पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पु्याएकोमा पत्रकारद्धय शिवराज बस्ताकोटी र यदुनाथ बञ्जारा लगायतलाई सम्मान समेत गरिएको छ ।