पोखरा महानगर खेलकुद विकास समितिले बाँड्यो खेलसंग सम्बद्ध संघ, प्रशिक्षक र खेलाडीहरुलाई १० लाख बराबरको खेल सामाग्री
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

पोखरा महानगरपालिका मातहतको महानगर खेलकुद विकास समितिको पोखरा रंगशालाभित्र रहेको कार्यालयको आज शुक्रबार उद्घाटन भएको छ ।

महानगर खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी महानगर प्रमुख धनराज आचार्यको हातबाट सो कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि कार्यालय ड्यामसाइड स्थित शिक्षा महाशाखासंगै थियो तर खेलसंग सम्बद्ध निकाय भएको र रंगशालाभित्रै कार्यालय राख्दा खेलकुद गतिविधिका कार्य सम्पादन गर्न सहज हुने भएकाले कार्यालयलाई रंगशालाभित्र नै राखिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।

समितिले आफ्नो कार्यालयको उद्घाटनसंग–संगै पोखरा रंगशालामा रहेका विभिन्न खेलसंग सम्बद्ध संघ संस्था, प्रशिक्षक र खेलाडीहरुलाई १० लाख रुपैयाँ बराबरको खेल सामाग्री समेत वितराण गरेको छ ।

समितिले फुटबल, भलिबल, बास्केटबल, आइटिएफ तेक्वान्दो, बक्सिङ, केन्पो काइ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँते लगायतका विभिन्न खेलका संघ संस्था, प्रशिक्षक र खेलाडीहरुलाई १ देखि ६६ थानसम्म खेल सामाग्री वितरण गरेको हो ।

खेल सामाग्री वितरण गर्दै मेयर आचार्यले आश्विन २८ देखि कात्तिक ३ गतेसम्म पोखरा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस ठाउँबाट धेरै पदक जित्ने गरी कडा मिहिनेत गर्न प्रशिक्षक र खेलाडीहरुलाई आग्रह गरेका छन् ।

यस प्रतियोगिताको आयोजक सरकार भएतापनि करिब ३९ वर्षपछि पून यो खेल यस ठाउँमा हुन गईरहेको हुदाँ हामीहरुको पनि धेरै दायित्व र जिम्मेवारी हुने बताएका छन् ।

उनले कार्यक्रम राम्रो भयो भने पनि त्यसको जस् हामी सबैले पाउँने र केही नराम्रो भयो भने त्यसको बदनामी हामी पोखरेली नै हुने समेत स्पष्ट पारेका छन् ।उनले खेलसंग सम्बन्धित सम्पूर्ण प्रशिक्षक, खेलाडीहरु लगायत सबैलाई अनुशासित र मर्यादित हुन जरुरी रहेको पनि बताएका छन् ।

मेयर आर्चायले पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर भएको र यस प्रतियोगितामा विभिन्न ठाउँहरुबाट आउने पाहुनालाई सम्मानजनक व्यवहार गर्न कुनैपनि हालतमा हामी चुक्न नहुने पनि जनाएका छन् ।

त्यस्तै उनले पोखराबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षक, रेफ्री र खेलाडीहरु उत्पादन गर्ने गरी आगामी दिनहरुमा योजनाहरु ल्याउने पनि जानकारी दिएका छन् ।

यस्तै समितिका अध्यक्ष दिपक बहादुर गोदारले थोरै बजेट भएपनि सके जति खेललाई सामाग्री बाँडेर सम्बोधन गर्ने प्रयास आफुहरुले गरेको बताएका छन् ।

विशेषगरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई यसपटक आफुहरुले सम्बोधन गरेको र आगामी दिनहरुमा सकेसम्म कुनैपनि खेलहरुलाई नछुटाई सहयोग गर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्