गण्डकी जुडो संघका अध्यक्ष रुद्र मल्लद्धारा गण्डकी प्रेदशबाट जुडो खेलमा प्रथम हुने खेलाडीलाई सुनको मेडल दिने घोषणा
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नेपाली खेलकुदको गौरवपूर्ण आयोजनाका रुपमा प्रतेक दुई वर्षमा संचालन हुँदै आएको वृहत खेलकुद गतिविधि अन्तर्गतको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएको छ । यस प्रतियोगिता संचालन हुन अब मात्र २३ दिन बाँकी रहेको छ ।

प्रतियोगिताको मिति नजिकिदै गर्दा गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा पर्न सफल भएका विभिन्न खेलहरुको अहिले खेलाडी बन्द प्रशिक्षण कार्यक्रम भईरहेको छ ।

गण्डकी जुडो संघको पनि आश्विन २ गतेदेखि यस प्रदेशबाट छनौटमा पर्न सफल भएका विभिन्न तौल समुहका १८ जना जुडो खेलाडीहरुको बन्द प्रशिक्षण संचालन भईरहेको छ ।

छनौटमा पर्न सफल भएका खेलाडीहरुलाई पोखरा रंगशाला भित्र रहेको आफ्नै जुडो हलमा भोलेन्टियर प्रशिक्षक रबी चौधरीले प्रशिक्षण गराउँदै आउनुभएको छ ।

सो बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सम्बोधन गर्ने क्रममा गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न सफल हुने गण्डकी प्रदेशका जुडो खेलाडीलाई सुनको मेडल प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

जुडो संघका अध्यक्ष मल्लले खेलाडीहरु राष्ट्रको गहना भएको र उहाँहरुलाई यस खेल क्षेत्रमा प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्य सहित आफुले सुनको मेडल दिने घोषणा गर्नुभएको बताउनुभएको छ । उहाँले आफ्ना खेलाडीहरुलाई अनुशासित र लगनशील भएर कडा मेहेनेतका साथ प्रशिक्षणमा लाग्न आग्रह पनि गर्नुभएको छ ।

अध्यक्ष मल्लले यस प्रदेशबाट आफ्ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने कुरामा विश्वस्त भएको जनाउनुभएको छ । खेलाडीहरुलाई सम्बोधन गर्दै उहाँले नेपालमा जुडो खेल वि.सं.२०२६ सालमा भित्रिएता पनि विधिवत रुपमा राष्ट्रिय खेलकुद परिषद्मा २०४० सालमा दर्ता भई यस खेलले स्थान पाएको बताउँदै गण्डकी प्रदेशमा यस खेल र खेलाडीहरुको विकासका निम्ति आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

उहाँले पछिल्लो समय यस खेलमा पोखरेलीहरुको आकर्षण बढेको जानकारी दिँदै यस खेलको महत्वमाथी प्रकाश समेत पार्नुभएको छ । झण्डै ४ दशकपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आश्विन २८ देखि कात्तिक ३ गतेमा आयोजना हुँदैछ ।

यस प्रतियोगितामा ३६ वटा खेलहरुको सहभागीता रहने भएको छ । सहभागी हुने ३६ खेल मध्ये धेरै जसो खेलहरु पोखरामा हुँदैछ भने कतिपय खेलहरु यस प्रदेशका ७ जिल्लाहरु कास्की, स्याङ्जा, बाग्लुङ्ग, पर्वत, गोर्खा, म्याग्दी र नवलपुरमा खेलाईदैछन् ।

त्यस्तै जुडो खेल भने पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ४ दिनसम्म संचालन हुने भएको छ । सो खेल आश्विन ३१ देखि कात्तिक ३ गतेसम्म पोखरामा संचालन हुने भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्