डा.साहद्धारा जुडो र हेण्डबलका खेलाडी एंव सम्बन्धी व्यक्तिहरुलाई चोटपटक रोकथामको विषयमा प्रशिक्षण
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

गण्डकी प्रदेशमा झण्डै ४ दशकपछि आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति झन–झन नजिकिदै गईरहेको छ । प्रतियोगिता आयोजना हुन अब मात्र २० दिन बाँकी छ भने मिति नजिकिएसंगै अहिले यस प्रदेशबाट सहभागी हुने ३६ वटा खेलहरुको बन्द प्रशिक्षण समेत चलिरहेको छ ।

सो बन्द प्रशिक्षणमा विभिन्न खेलका खेलाडीहरुले कडा परिश्रम र मेहेनेतका साथ प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणको दौरान खेलाडीहरुलाई लाग्नसक्ने चोटपटकलाई न्यूनिकरण गर्न र रोक्न प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशले विभिन्न खेलका खेलाडीहरु, प्रशिक्षक एंव टिम म्यानेजरहरुलाई सहभागी गराएर चोटपटकको रोकथाम कसरी गर्न सक्निछ भनि कक्षा नै संचालन गरिरहेको छ ।

उक्त प्रशिक्षण कक्षाको लागि परिषदले आफ्नै सभाहलमा खेल फिजियो डाक्टर नै उपस्थित गराएर प्रशिक्षण दिँदै आईरहेको छ । परिषदले नेपाली सेना, मध्य कमाण्ड अस्पताल, पोखराका फिजियोथेरापिस्ट डा.मनिष कुमार साहको उपस्थितमा चोटपटकको रोकथाम विषयमा कक्षा संचालन गरेर प्रशिक्षण दिईरहेको छ ।

विभिन्न खेलका खेलाडीहरु, प्रशिक्षक एंव टिम म्यानेजरहरुलाई प्रशिक्षण दिने क्रममा शुक्रबार डा.साहद्धारा जुडो र हेण्डबलका खेलाडीहरुका साथै उक्त खेलहरुसंग सम्बन्धीत व्यक्तिहरुलाई समेत प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षणको क्रममा उहाँले चोटपटक रोकथामको लागि अपनाउनुपर्ने क्रमहरु, के–कस्ता कारण चोटपटक लाग्नसक्छ, यसका कारकहरु र चोटपटकलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको हो ।

परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ्गका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस प्रदेशबाट सहभागीता जनाउने सम्पूर्ण खेलहरुका खेलाडीहरु र सम्बन्धीत व्यक्तिहरुलाई डा.साहद्धारा प्रशिक्षण दिने बताउनुभएको छ ।

आश्विन २ गतेबाट सुरु भएको बन्द प्रशिक्षणको दिनबाटै प्रशिक्षण दिँदै आउनुभएका डा.साह खेल गतिका प्रशिक्षक एंव नेपाल रोल बल, राष्ट्रिय टोलिका खेलकुद फिजियो समेत हुनुहुन्छ ।

उहाँले स्पोट्स फिजियोमा भारतको टि.एम.यू बाट बिपिटि र के.याल.इ. यूनिर्भरसिटिबाट एमपिटि र काप्री इन्स्टीच्यूटबाट सिओएमटि गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्