पोखरा ।
सरिता गुरुङ्ग
खेलकुदको समग्र विकासका लागि गठन भएको पोखरा महानगर खेलकुद विकास समितिले सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । विगतका दिनहरुमा समेत विभिन्न खेलकुदका गतिविधिहरु संचालन गर्दै आएको यस समितिले ५ कि.मि. छात्र÷छात्रा र खुल्ला १० कि.मि. महिला÷पुरुष सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।
विशेषगरी उक्त प्रतियोगिता नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसर एंव आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा समितिले आयोजना गर्न लागेको जनाएको छ । उक्त सडक दौड प्रतियोगिता आश्विन १० गते हुने आयोजकले जनाएको छ ।
सो दौड प्रतियोगिता पोखरा रंगशालाबाट सुरु भई बजार क्षेत्र परिक्रमा गरी पुनः पोखरा रंगशालामा आएर समापन गरिने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विद्यालय स्तरीय ५ कि.मि. दौड प्रतियोगितामा प्रथम हुने छात्र÷छात्राले नगद रु १५ हजार, द्धितिय हुनेले नगद रु १० हजार, तृतीयले रु ५ हजार, चौंथो स्थान हासिल गर्नेले नगद रु ३ हजार र पाचौंले रु २ हजार प्राप्त गर्ने भएका छन् ।
त्यस्तै छैठौं देखी दशौं स्थानसम्म आउनले नगद रु १–१ हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । यस्तै १० कि.मि. खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिताका विजेताले नगद रु २५ हजार, द्धितिय स्थान प्राप्त गर्नेले नगद रु १५ हजार, तृतिय हुनेले रु १० हजार प्राप्त गर्ने भएका छन् ।
त्यसैगरी चौंथोमा आउन सफल धावकलाई पनि नगद रु ५ हजार प्रदान गरिने भएको छ भने पाँचौं हुनलाई रु ३ हजार दिईने भएको छ । सदस्य सचिव खड्का अनुसार यस प्रतियोगिता संचालन गर्न खेलकुद विकास समितिका सदस्य जिवन बाटाजुको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरिएको बताउनुभएको छ । यस प्रतियोगिता सम्पन्न गर्न लगभग ७ लाख खर्च लाग्न सक्ने आफुहरुको अनुमान रहेको समितिले जनाएको छ ।