नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई महानगरको पूर्ण सहयोग रहने मेयर आर्चायद्धारा जानकारी
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन पोखरा महानगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता गरेको छ । पोखरा महानगरद्धारा आज विहीबार आयोजित वडा अध्यक्षहरुसंगको छलफल कार्यक्रममा महानगरका प्रमुख धनराज आचार्यले सो कुराको प्रतिवद्धता जनाएका हुन् ।

सो छलफल कार्यक्रममा मेयर आचार्यले पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको होस्ट शहर भएको बताउँदै करिब ४० वर्षपछि यस ठाउँमा प्रतियोगिता हुनु भनेको हामी सबैका लागि गौरवको विषय भएको बताएका छन् । उनका अनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुका साथै धेरै जसो खेलहरु पोखरामा नै आयोजना हुने हुदाँ महानगरले प्रचार–प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन महानगर प्रवेश गर्ने नाकाहरुका साथै यहाँका मुख्य ठाउँहरुमा स्वागतद्धार राखिने भएको बताएका छन् ।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा खेलकुदमय भएको छ भन्ने सन्देश दिन र प्रचार–प्रसार गर्नका लागि दशैं लगतै सरोकारवाला निकायसंग बसेर उक्त विषयमा कार्य अगाडी बढाउने जानकारी दिएका छन् । यसका लागि आफुहरुले विद्युतिय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतलाई प्रचार–प्रसारको माध्यको रुपमा प्रयोग गर्ने जनाएका छन् ।

प्रमुख आचार्यले यस प्रतियोगितालाई सफल बनाउन प्रतेक वडाहरुले के–कस्ता किसिमका भूमिका निर्वाह गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन आग्रह गर्दै आ–आफ्नो वडाको सरसफाई लगायतका विषयलाई पनि महत्व दिन अनुरोध गरेका छन् । उनले यसतर्फ महानगरबाट समन्वय गर्न वडा नं. ३ र १५ का अध्यक्षद्धय प्रकाश उदास र तोरण बाँनियालाई जिम्मेवारी दिएको बताएका छन् ।

योसँगै यस प्रतियोगितालाई सोचे भन्दा उत्कृष्ट रुपमा संचालन गर्नका निम्ति प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशसंग विभिन्न चरणमा महत्वपूर्ण विषयमा छलफल समेत भईसकेको जानकारी दिएका छन् ।

सोही कार्यक्रममा प्रमुख आचार्यले महानगरले खेल स्थलहरुसम्म जाने सडक, खेल स्थलहरुको सरसफाई, विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापनको लागि सहयोग गर्ने पनि जनाएका छन् ।

महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक एंव अफिसियलहरुलाई होटल, यातायात, सपिङ्क मल लगायतमा सहुलियत र छुटका लागि सम्बन्धीत पक्षसँग छलफल गरिने पनि उनले जनाएका छन् ।

त्यस्तै सो कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ्गले करिब ४ दशकपछि यस प्रदेशमा आयोजना हुन गईरहेको यस प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन सबैको दायित्व भएको बताएका छन् ।

विशेषगरी पोखरा महानगरपालिका यस प्रतियोगिताको केन्द्रको रुपमा रहेकाले यस प्रतियोगितामा विभिन्न ठाउँहरुबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल एंव अन्य व्यत्तित्वहरुको आतिथ्यताका लागि महानगरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन् ।

झण्डैं ४ दशकको लामो प्रतिक्षा पक्षात नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आश्विन २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यस प्रतियोगितामा यस प्रदेशबाट ३६ वटा खेलमा नै खेलाडीहरुको सहभागीता रहने भएका छन् भने अहिले यस प्रतियोगिताका सम्पूर्ण खेलमा सहभागी हुने खेलाडीहरुको बन्द प्रशिक्षण भईरहेको छ ।

यस्तै यस प्रतियोगिता आयोजना हुन अब मात्र १४ दिन बाँकी छ । उक्त प्रतियोगितामा ७ वटै प्रदेश, ३ विभागिय टोली र एनआरएन गरी ११ टिमको प्रतिस्पर्धा रहने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्